काठमाडौं, २० फागुन ।
नेकपा विप्लव समूह र सरकारबीच ३ बुदे सहमति भएको छ । यो सहमतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । भूमिगत रहेका विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममार्फत देखिन लागेका हुन् ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । सो नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने र सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरुमा सहमति भएको छ ।
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच ३ बुँदे सहमति यसप्रकार छन् ।
१) चन्द समूहले सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने ।
२) राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्ने ।
३) सरकारले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने राजनीतिक बन्दी रिहा र मुद्दा खारेज गर्न पनि सरकार सहमत ।





