सरकार – विप्लव वार्ता सकारात्मक मोडमा : फास्ट ट्र्याकमा टुंग्याउने तयारी

काठमाडौं, २० फागुन ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार दुई चरणमा वार्ता भएको छ । दुई वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर सरकारले वार्ता गरेको हो ।

सरकारी वार्ता टोलीसँग बुधबार बिहान र साँझ गरी दुई चरण बस्दा पनि विप्लवका प्रतिनिधि सार्वजनिक भएका छैनन्। विप्लवको वार्ता टोलीका सदस्य मध्यस्थकर्ता नेपबहादुर कुँवरसँगै बालुवाटार पुगेका थिए ।

दुवै पक्षका वार्ता टोलीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने समझदारी दोस्रो चरणको वार्ताका क्रममा जुटेको जनाइएको छ । तर, कहिले गर्ने भन्ने विषयमा मोडालिटी तयार पारेपछि मात्र समय तय गरिने भएको छ ।

सकभर फास्ट ट्र्याक विधिबाटै वार्तालाई परिणाममुखी बनाउने गरी छलफल केन्द्रित रहेको वार्ता टोलीका एक सदस्यले बताए । दुवै पक्षबीच विषय केन्द्रित रही समान धारणानजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले पनि वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएका छन् । गृहमन्त्री थापाले वार्तापछि सामाजिक सन्जालमार्फ त्यस्तो प्रतिक्रिया दिएका हुन्। ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ’, गृहमन्त्री थापाले भनेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ। ’

वार्तामा विप्लव पक्षसँग रहेको हतियार बुझाउनेदेखि वैधानिक आन्दोलनमा आउने विषयमा हस्ताक्षर गर्नुपर्नेसम्मका धारणा सरकारी टोलीले राखेको स्रोतले बताएको छ । विप्लवका प्रतिनिधिले भने प्रतिबन्ध फुकुवा र बन्दी नेता, कार्यकर्ता रिहाइमा जोड दिएका थिए ।

‘त्यस्तो कुनै बाहिर आएजस्तो छलफल छैन, सकारात्मक ढंगले नै विषय केन्द्रित छलफल छ’, विप्लवको वार्ता टोलीका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले भने, ‘अझै एक–दुई चरण छलफलपछि मात्र केही धारणा बन्ला । अहिले सकारात्मक ढंगले छलफल अगाडि बढेको छ। ’

आज बिहीबार पनि सरकार र विप्लवको पार्टीबीच वार्ता हुने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट