भरतपुर, १३ फागुन ।
पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले संसद् पुनःस्थापनापछि बन्ने नयाँ सरकारमा कांग्रेस कुनै पनि हालतमा जान नहुने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय समितिले बिहीबार भरतपुरको चौबिसकोठीमा आयोजना गरेको बृहत् रक्तदान तथा सरकारको अराजक कार्यको विरोध सभामा नेता बस्नेतले कांग्रेस पदमा लोभिन नहुने बताएका हुन् ।
“यति बेला प्रचण्डजीहरू प्रधानमन्त्री पद दिन्छौं भनेर हाम्रो ढोका ढकढक्याउन आइसक्नुभएको छ”, उनले भने, “मिलेर नयाँ सरकार बनाऔं भनेर मनाउन आउनुभएको छ । तर हामी कुनै पनि हालतमा सरकारमा जानु हुँदैन ।” कुनै समय कांग्रेसको खेदो खन्न समय बिताएका कम्युनिष्टसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने उनको भनाइ थियो । विश्वबाटै लोप भइसकेको कम्युनिष्ट शासन पद्धति नेपालमा मात्रै च्याउझैँ फस्टाएको बताउँदै नेता बस्नेतले उनीहरू नेपालबाट पनि चाँडै हराएर जाने उल्लेख गरे । “जनताले बहुमत दिएर कम्युनिष्टलाई जिताए । तर बदलामा कम्युनिष्टले जनताको मतको अपमान गरे”, बोल्ने क्रममा उनले अगाडि थपे, “कम्युनिष्टको सरकार काण्डैकाण्डमा फस्यो । उनीहरूले आफ्नो विनाश आफैँले निम्त्याइरहेका छन् ।”
नेता बस्नेतले नेकपाभित्रको अन्तर्द्वन्द्वलाई हड्डीका लागि दुई कुकुरले गरेको झगडाकोे संज्ञा दिएका थिए । “उहाँहरू हड्डी पाउन आफूआफूबीच कुस्ती खेलिरहनुभएको छ”, व्यंग्यात्मक शैलीमा उनले भने, “उहाँहरू रगत पिउनुहुन्छ । हामी रगत दान गर्छाैं । एकआपससँग लडेपछि घाइते हुने उहाँका कार्यकर्ताका लागि पनि हामीले यो रक्तदान गरेका हौं ।” कम्युनिष्ट सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै सरकारको थप अराजक व्यवहार सह्य नहुने उनले बताए । पूर्व मन्त्री बस्नेतले काँग्रेसभित्र पनि अनेकौँ समस्या रहेको बताउँदै आफू नै पहिले सुध्रिनुपर्नेमा जोड दिएका थिए । रक्तदान तथा सम्मान कार्यक्रममा पूर्व क्रिकेटर तथा प्रशिक्षक अनिल अधिकारीसँगै रक्तदाताहरूलाई पनि सम्मान गरिएको थियो ।

हत्यामा संलग्नलाई आममाफी दिन नहुनेमा नेकाको जोड
थुनामा रहेका बखत हत्या गरिएका नेपाल तरुण दल चितवनका तत्कालीन सभापति शिव प्रसाद पौडेललाई स्मरण गर्दै नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पौडेलका हत्यारालाई आममाफी दिनु गलत भएको बताए । “प्रजातन्त्र दिवस भनेको पवित्र दिन हो । हत्या अभियोगमा सर्वस्व सहित आजीवन जेल सजाय बिताइरहेका अपराधीलाई आममाफी दिन खोज्नु पाप कर्म हो”, चौबिसकोठीमा सभालाई सम्बोधन गर्दै पार्टी सभापति श्रेष्ठले भने । यस्तै, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पनि जघन्य अपराध गरेको ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिनु भनेको कानूनी, राजनीतिक र संवैधानिक कुनै पनि हिसाबले ठीक नभएको विचार राखे । वाग्मती प्रदेशसभाका सांसद मिलन बाबु श्रेष्ठले जेलभित्र नै नागरिकले सुरक्षाको अनुभूति गर्न नपाएको अवस्थामा हत्याराको सजाय मिनाहा गरिनु कानून विपरीतको कार्य भएकोमा उनले जोड दिए ।
विरोध सभामा बोल्ने क्रममा स्वर्गीय शिव पौडेलकी श्रीमती विनु पौडेलले राष्ट्रपति संस्थाको औचित्यमाथि प्रश्न गरिन् । पौडेलले आफू र राष्ट्रपतिमाथि समान पीडा रहेको भन्दै आफ्नो पतिको हत्यामा संलग्नको खोजी गर्नुपर्नेमा पहिचान भएर पक्राउ भइसकेकालाई पनि छाड्ने निर्णय भएको भन्दै त्यस कार्यको निन्दा गरिन् । “राष्ट्रपति महिला भएकाले मेरो चित्कार बुझ्नुहोला भन्ने ठानेकी थिएँ”, पौडेलले भनिन्, “तर अहँ, राष्ट्रपति त प्रधानमन्त्री ओलीजीको कठपुतली हुनुहुँदो रहेछ । नेपालीको राष्ट्रपति हुनुहुँदो रहेनछ ।”
सरकारले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाहा गरेकामध्ये तीन जना (फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी) शिवप्रसाद पौडेलको हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका छन् । केसी २०६७ सालको असार २० गते, मोक्तान २०६७ सालको भदौ ३ गते र श्रेष्ठ २०६७ सालको साउन २२ गते पक्राउ परेका थिए ।
शिवप्रसाद पौडेल २०६८ भदौ १० गते चितवनको कविलासमा एमाले निकटका युवा सञ्जय लामाको हत्याको अभियोगमा पूर्पक्षका लागि कारागारमा थिए । नेपाली कांग्रेसले पौडेल उक्त दिन पार्टीको महिला संघले आयोजना गरेको तीज विशेष कार्यक्रममा अतिथिका रूपमा रहेको भन्दै उनको रिहाइको माग गर्दै आएको थियो । २०६८ साल मंसिर २० गते चितवन जिल्ला कारागारभित्रै पौडेलमाथि आक्रमण भएको थियो । उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आक्रमणमा परेको ११ दिनपछि पुस २ गते मृत्यु भएको थियो ।





