भरतपुर, १२ फागुन ।
एन्थनी डे मेल्लो ट्रफी अन्तर्गत इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टको पहिलो दिन भारतले उत्कृष्ट बलिङ गरेको छ । बुधबार अहमदाबादमा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोलीलाई पहिलो पारीमा जम्मा ११२ रनमा समेट्दै भारतले शानदार सुरुवात गरेको हो ।
इंग्ल्याण्डलाई सस्तैमा समेट्न स्पीनर अक्षर पटेल एक्लैले ६ विकेट लिए । अर्का स्पीनर रविचन्द्रन आश्विनले ३ विकेट लिँदा आफ्नो करियरको सयौँ टेष्ट खेलिरहेका इशान्त शर्माले १ विकेट चट्काए । इंग्ल्याण्डका लागि ओपनर ज्याक क्राउलीले ५३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन आशलाग्दोे रहन सकेन ।
जवाफी ब्याटिङ थालेको भारतले पनि आफ्ना दुई विकेट सस्तैमा गुमाएको छ । चेतेश्वर पुजारा शून्य रनमा आउट हुँदा शुभमन गीलले ११ रन मात्रै बनाउन सके । भारतले यो खबर तयार पार्दासम्म दुई विकेटको क्षतिमा ४७ रन बनाएको छ । यी दुई टोली बीचको चार टेष्टको शृंखला १–१ को बराबरीमा रहेको छ ।
मोटेरा रंगशालामा फर्कियो क्रिकेट
भारत र इंग्ल्याण्ड बीचको डे–नाइट टेष्ट सुरु भएसँगै अहमदाबादस्थित मोटेरा क्रिकेट रंगशाला (नरेन्द्र मोदी स्टेडियम)ले फेरि अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने मौका पाएको छ । सन् १९८३ मा निर्माण गरिएको सो रंगशालालाई सन् २०१५ मा पुनःनिर्माणका लागि भत्काइएको थियो । सन् २०२० मा निर्माण कार्य सम्पन्न गरिएको उक्त रंगशाला १ लाख ३२ हजार दर्शक क्षमताको रहेको क्रिक्इन्फोले लेखेको छ । त्यससँगै मोटेरा क्रिकेट रंगशाला सर्वाधिक दर्शक क्षमता भएको क्रिकेट रंगशाला बनेको छ ।




