भरतपुर, १२ फागुन ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या सच्याइएको छ । शव व्यवस्थापन गरिएकामध्ये ६१८ जनालाई मृतक सूचीमा बल्ल थपिएको हो । सोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट हालसम्म २ हजार ६८४ जनाको मृत्यु भएको जनाएको छ ।
कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताएका हुन् ।
नेपाली सेनाले शव व्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे विस्तृत अध्ययनपछि ६१८ जना मृतक थपिएका हुन् । मन्त्रालयले यसअघि दुवै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो ।





