भरतपुर, १२ फागुन
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन गर्नबाट प्रधानमन्त्रीलाई अन्तिमसम्म रोकेको तर प्रधानमन्त्रीले त्यसलाई नमानेको बताएका छन् । केही बेरअघि न्युज ट्वान्टी फोर टेलिभिजनले प्रसारण गरेको कुराकानीमा उनले कानूनी र राजनीतिकरुपमा त्यो(विघटनको) निर्णय ठीक नहुने भनेर सल्लाह दिएको बताए ।
केही दिनअघि विराटनगरमा भएको सभामा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट आफ्नो धारणा राख्ने बताएका थिए । हिजो सर्वोच्चको फैसला आएपछि उनले प्रतिक्रिया दिएका हुन् ।
“प्रधानमन्त्रीले अरु विकल्प केही नपाएर त्यो बाटो रोज्नुभएको हो”, उनले भने, “तर, अन्तिमसम्म पनि विघटनको बाटो रोज्नु हुँदैन भनेको थिएँ ।”
उनले सर्वोच्चको फैसालअनुसार अब प्रधानमन्त्री अघि बढ्नुपर्ने बताए । “सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर अघि बढ्नुपर्छ”, उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि भनिसकेको छु, अब मन्त्रिपरिषद् बोलाएर समयसीमाभित्रै संसद् बैठक बोलाउन राष्ट्रपतिलाई अनुरोध गर्नुपर्छ ।”
सर्वोच्चले पुनस्थापित संसद् बैठक फैसला भएको १३ दिनभित्र बस्न परमादेश पनि जारी गरेको छ ।





