आइपिएलको तेह्रौँ सीजनबाट पञ्जाब पनि बाहिरियो

भरतपुर, १६ कार्तिक ।

किंग्स इलवेन पञ्जाब युएईमा जारी इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने पञ्जाब दोश्रो टोली बनेको हो । चेन्नई भने अन्तिम खेल खेल्नु अगाडि नै बाहिरिसकेको थियो ।

अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पञ्जाबले प्रस्तुत गरेको १५४ रनको लक्ष्य चेन्नईले खेल सकिन ७ बल बाँकी छँदा एक विकेट गुमाएर भेट्टाएको हो । चेन्नईलाई अन्तिम खेलमा सान्त्वना जीत दिलाउने क्रममा ओपनर रुतुराज गैक्वादले अविजित ६२ रनको योगदान दिए । ४९ बलको सामना गरेका उनले आफ्नो अर्धशतकीय पारीमा १ छक्का र ६ चौका प्रहार गरेका थिए । रुतुराजले म्यान अफ दि म्याच पुरस्कार समेत प्राप्त गरे । उनका साथी ओपनर फाफ डु प्लेसिस ४८ रन बनाएर आउट भए भने अम्बाती रायुडु ३० रनमा अविजित रहे । पञ्जाबको तर्फबाट एकमात्र विकेट क्रिश जोर्डनले लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो । टोलीलाई कप्तान लोकेश राहुल र अर्का ओपनर मयंक अग्रवालले राम्रो सुरुवात दिलाएका भएपनि मध्यक्रमका ब्याट्सम्यानले भने सोही प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । राहुल २७ बलमा २९ तथा अग्रवाल १५ बलमा २६ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका क्रिश गेल पनि १२ रन मात्रै बनाएर आउट भए । छैटौँ क्रममा ब्याटिङ गर्न आएका दीपक हुडाले एक्लो प्रयासमा टोलीलाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । ३० बलको सामना गरेका उनले ३ चौका र ४ छक्का सहित नट आउट ६२ रन प्रहार गरे । चेन्नईका तर्फबाट भने लुंगी निगिदीले ३ विकेट हात पारे । यस्तै शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले पनि १–१ विकेट हात पारे ।

पञ्जाबमाथि जीत निकाल्दै चेन्नईले प्रतियोगितालाई सुखद अन्त्य गरेको छ । आइपिएलको बाह्रौँ संस्करणसम्म आफूले खेलेका सबै सीजनको प्ले अफ पुग्न सफल बनेको चेन्नईले हाल सीजन सातौँ स्थानमा सकेको छ । उसले ६ खेलमा जीत हात पार्दा ८ पटक हारको सामना गर्नुपरेको थियो । पञ्जाबले पनि समान ६ खेलमा जीत र ८ मा हार बेहोर्दै सीजनलाई पाँचौँ स्थानमा टुंगाएको छ । यद्यपि सीजनको अन्तिममा चेन्नई र पञ्जाबले तालिकामा प्राप्त गर्ने स्थानको छिनोफानो भने राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेलबाट मात्रै हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट