हैदराबादको जादुई प्रदर्शनमा बेंगलोर पराजित

भरतपुर, १६ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै प्ले अफ खेल्ने सम्भावनालाई जीवित राखेको हो ।

खेलमा बेंगलोरले प्रस्तुत गरेको १२१ रनको लक्ष्यलाई हैदरबादले खेल सकिन ३५ बल बाँकी छँदै भेट्टाएको थियो । हैदराबादका लागि ऋद्धिमान् शाहले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै, मनिष पाण्डे २६ रन बनाएर आउट हुँदा अलराउण्डर जेसन होल्डर भने २६ रनमा नट आउट रहे । होल्डरले जम्मा १० बलमा ३ छक्का र १ चौका प्रहार गरे । बेंगलोरका लागि यजुवेन्द्र चहलले २ विकेट हात पार्दा नवदीप शैनी, इसुरु उडाना र वासिन्टन सुन्दरको खातामा पनि १–१ विकेट रह्यो ।

यसअघि शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदराबादले टस जिती पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै बेंगलोरले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १२० रन मात्रै बनाउ सक्यो । हैदराबादको कसिलो बलिङसामु बेंगलोरका ब्याट्सम्यान निरीह देखिएका थिए । उसका लागि जोश फिलिपेले ३२, एबी डेभिल्लर्सले २४ तथा वासिन्टन सुन्दरले २१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो । अघिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएका ओपनर देवदत्त पदिकाल ५ रनमा आउट हुँदा कप्तान विराट कोहलीले जम्मा ७ रन जोडे । बेंगलोरलाई कम योगफलमा समेट्न हैदराबादका सन्दीप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । ४ ओभरको स्पेलमा जम्मा २० रन खर्चिएका शर्माले म्यान अफ दि म्याच पुरस्कार समेत प्राप्त गरे । होल्डर र शर्माका अलावा थंगरासु नटराजन, रसिद खान र शहवाज नदिमले पनि १–१ विकेट हात पारे ।

जीतपछि २ अंक बटुलेको हैदराबादले एकै पटक ३ स्थान सुधार गर्दै अंकतालिकामा चौँथो स्थानमा पुगेको छ । १३ खेलमा ६ जीत र ७ हार बेहोरेको हैदराबादको कूल १२ अंक रहेको छ । तालिकामा हैदराबादका अलावा अरु तीन टोलीको पनि समान १२ अंक रहेको छ । यद्यपि हैदराबाद नेट रन रेटका ममलामा उनीहरूभन्दा अगाडि छ । प्ले अफ खेल्ने आशालाई जोगाई राख्न हैदराबादले आफ्नो अन्तिम खेलमा शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई हराउनु पर्नेछ । उता हैदराबादसँग हार बेहोरेपछि बेंगलोरको प्ले अफ यात्रा थप कठिन बन्ने देखिएको छ । १३ खेलमा ७ जीत र ६ हार बेहोरेको ऊ १४ अंकमा तालिकाको दोश्रो स्थानमा छ । बेंगलोरले आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको खण्डमा उसको भाग्यलाई किंग्स इलवेन पञ्जाब, सनराइजर्स हैदराबाद र कोलकत्ता नाइट राइडर्सको प्रदर्शनले निर्धारण गर्नेछ । बेंगलोरले दिल्लीमाथि जीत हात पारेका खण्डमा भने ऊ लिगको दोश्रो स्थानमा रहेर प्ले अफका लागि छनौट हुनेछ । पहिलो स्थानम रहेको मुम्बईले भने यसअघि नै प्ले अफमा आफ्नो स्थान सुरक्षित पारिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट