कोहलीको विराट पारीको मद्दतमा बेंगलोर विजयी

भरतपुर, २४ असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । उसले चेन्नई सुपर किंग्सलाई ३७ रन अन्तरले हराएको हो ।

बेंगलोरले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो । उसका दुवै ओपनर सस्तैमा आउट भएपछि चेन्नई दबाबमा आएको थियो । शेन वाटसनले १४ रन जोडेर आउट हुँदा फाफ डु प्लेसिसले ८ रन मात्रै बनाउन सके । चेन्नईका अम्बाती रायुडु र नारायण जगदीशनले भने ब्याटिङमा केही साहस देखाएका थिए । जगदीशनले ३३ रनको योगदान गर्दा रायुडु भने ४२ रनको व्यक्तिगत स्कोरमा इसुरु उडानाको बलमा बोल्ड हुन पुगे । चेन्नईलाई तीन पटकसम्म आइपिएल खिताब जिताएका कप्तान महेन्द्र सिंह धोनी पनि १० रन बनाएर आउट भए । सेम कुरान शून्य रनमा प्याभिलियन फर्किँदा ड्वेन ब्राभो र रविन्द्र जडेजा पनि समान ७–७ रनमा आउट भए । बेंगलोरका बलरहरूमा क्रिश मोरिसले ३, वासिन्टन सुन्दरले २ तथा इसुरु उडानाले र यजुवेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बेंगलोरले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १६९ रनको उच्च योगफल तयार पारेको थियो । उसको सुरुवात पनि खासै सुखद भने रहन सकेन । उसले ओपनर एरोन फिन्चलाई २ रनको स्कोरमा गुमाएको थियो । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बेंगलोरका कप्तान विराट कोहलीले देवदत्त पदिकालसँग दोश्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । पदिकाल ३३ रन बनाएर आउट भएपछि भने बेंगलोरले नियमित अवधिमा थप विकेट गुमाइरह्यो । एबी डेभिल्लर्स शून्य रनमा आउट हुँदा वासिन्टन सुन्दर पनि १० रन बनाएर प्याभिलियन फर्किए । त्यसपछि भने कप्तान विराट कोहली र शिवम् दुबेबीच पाँचौँ विकेटका लागि नट आउट ७६ रनको महत्त्वपूर्ण साझेदारी बनेको थियो । पारीको अन्त्यमा कोहली ९० रनमा नट आउट रहँदा दुबेले पनि अविजित २२ रनको योगदान दिए । १४ बल खेलेका दुबेले २ चौका तथा १ छक्का प्रहार गरे भने ५२ बलको सामना गरेका कोहलीले आफ्नो ब्याटबाट ४ छक्का र ४ चौका जोडे । कोहली म्यान अफ दि म्याच समेत घोषित भए । बलिङमा भने चेन्नईका सार्दुल ठाकुरले २ तथा सेम कुरान र दीपक चहरले एक–एक विकेट हात पारे ।

जीतसँगै दुई अंक हात पारेको बेंगलोर लिगको अंकतालिकामा चौँथो स्थानमा पुगेको छ । ६ खेलमा ४ जीत र २ हार बेहोरेको बेंगलोरको कूल ८ अंक रहेको छ । छैटौँ स्थानको चेन्नईले भने ७ खेलबाट २ जीत र ५ हार सहित ४ अंक जोडेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट