भरतपुर, २४ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार खेलिएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । उसले किंग्स इलवेन पञ्जाबलाई दुई रनको अन्तरले हराएको हो । जारी प्रतियोगितामा पञ्जाबको यो छैटौँ हार हो ।
कोलकत्ताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो । मयंक अग्रवाल र लोकेश राहुलले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै टोलीलाई जीतसम्म पु¥याउने कोसिस गरेपनि मध्यक्रम चल्न नसक्दा पञ्जाबले झिनो रन अन्तरको हार बेहोर्न बाध्य भयो । ३९ बल खेलेका मयंकले ५६ रनको योगदान गर्दा राहुलले ५८ बलमा ७४ रन जोडेका थिए । पञ्जाबका निकोलश पुरान १६ रन बनाएर आउट हुँदा मन्दीप सिंह भने पहिलो बलमै शून्य रनमा क्याच आउट भए । पञ्जाबलाई जीतका लागि अन्तिम ओभरमा १४ रन बनाउनुपर्ने थियो । उक्त ओभरको तेश्रो बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गरेपछि टोलीलाई खेल जित्न तीन बलमा ८ रन आवश्यक थियो । चौँथो बलमा एउटा बाइ रन कुदेपछि पाँचौँ बलमा मन्दीप सिंह आउट हुन पुगेका थिए । अन्तिम बलमा पञ्जाबलाई खेल जित्न ७ रनको खाँचो प¥यो । अन्तिम बलमा स्ट्राइक पाएका ग्लेन म्याक्सवेलले लंग अफको दिशामा लामो सट प्रहार गरेपनि बाउड्री लाइन यतै ठोक्किएर चौका हुन पुग्यो । पञ्जाबको पारीको अन्तिम ओभर सुनिल नरैनले फ्याँकेका थिए । म्याक्सवेल ५ बलमा १० रन बनाउँदै नट आउट रहे । कोलकत्ताका लागि भने प्रसिद कृष्णले ३ तथा सुनिल नरैनले २ विकेट लिए ।
यसअघि अबु धाबुस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकत्ताले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १६४ रनको स्कोर खडा गरेको थियो । उसका लागि ओपनर शुभमन गीलले ५७ तथा कप्तान दिनेश कार्तिकले ५८ रनको योगदान दिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै इंग्लिस ब्याट्सम्यान इयोन मोर्गनले पनि २४ रनको पारी खेले । बलिङमा भने मोहम्मद समी, अर्सदीप सिंह र रवि विस्नोईले एकएक विकेट हात पारे । कोलकत्ताका तीन ब्याट्सम्यान भने रन आउट भएका थिए ।
जीतसँगै कोलकत्ताले महत्तवपूर्ण दुई अंक हात पारेको छ । ६ मध्ये ४ खेल जितेको ऊ ८ अंकसहित तालिकाको तेश्रो स्थानमा उक्लिन सफल भएको छ । उता ७ मध्ये जम्मा एक खेल जितेको पञ्जाब भने २ अंक सहित तालिकाको अन्तिममा रहेको छ ।





