भरतपुर, २४ असोज ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी वर्षहरूमा मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएको छ । अक्टोबर १० तारिखका दिन मनाइने विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारी उसले आउने दिनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायताको आवश्यकता पनि बढेर जाने बताएको हो । हाल विश्व नै कोभिड१९ महामारीका कारण त्रसित बनेको सन्दर्भमा डब्लुएचओले मानसिक समस्या भएका व्यक्तिहरूको संख्यामा उल्लेख्य वृद्धि हुनसक्नेतर्फ पनि संकेत गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनका लागि नै हब्लुएचओले यस पटकको मानसिक स्वास्थ्य दिवसको नारा “मुभ फर मेन्टल हेल्थ : लेट्स इन्भेष्ट” अर्थात् ‘मानसिक स्वास्थ्यका लागि कदम चालौं लगानी गरौं’ राखेको छ ।
मानसिक स्वास्थ्य जनस्वास्थ्यको क्षेत्रमा उपेक्षित बनेको भन्दै विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । उसका अनुसार हाल संसारभर करिब १ अर्ब मानिसहरू मानसिक समस्या लिएर बाँचिरहेका छन् । त्यस्तै वर्षेनी ३० लाख मानिसहरूले रक्सीको हानिकारक प्रयोगका कारण मर्ने गरेका छन् भने हरेक १ सेकेण्डमा ४० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । उक्त संख्यालाई कोरोना महामारीले अझै भयावह रूपमा बढाउन सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ रहेको छ । कोरोना महामारीका दौरान मानिसहरूले थुप्रै चुनौतीको सामना गर्नुपरेकाले त्यसले मानिसमा सहजै मानसिक विचलन ल्याउन सक्ने उसले उल्लेख गरेको छ ।
कठिन परिस्थितिमा पनि सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीसँगै अग्रपंक्तीमा रहेर काम गरेका अन्य पेशाका मानिसहरूमा तनाबसम्बन्धी समस्या देखिन सक्नेतर्फ विश्व स्वास्थ्य संगठनले सजग गराएको छ । त्यस्तै, विद्यालय तथा शैक्षिक संस्थामा उपस्थित भई अध्ययन गर्ने विद्यार्थीहरूलाई साथी र अध्यापकसँग न्यून सम्पर्क राखी घरैबाट अनलाइन विधिले पढ्दा उनीहरूमा पनि मानसिक समस्या देखिन सक्ने डब्लुएचओले जनाएको छ । यस्तै विगतमा सामाजिक रूपमा घुलमिल भएर बस्ने गरेकोमा महामारी सुरु भएपछि शारीरिक दूरी कायम गनुपर्दाका कारण पनि धेरैमा मानसिक समस्या देखिनसक्ने उसको भनाइ छ । महामारीका कारण संसारभरि नै अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा धेरैले रोजगार समेत गुमाउन पुगेका छन् । कोरोना महामारीका कारण भावी दिनमा यी र यस्तै प्रकृतिका समस्याले विकराल रूप लिनसक्ने भएको बताउँदै डब्लुएचओले मानसिक स्वास्थ्य र त्यसको उपचारमा पनि ध्यान दिन आग्रह गरेको हो ।
संसारमा सीमित व्यक्तिहरूको मात्रै मानसिक स्वास्थ्य सेवामा पहुँच रहेकाले सो क्षेत्रमा वृहत् लगानीको आवश्यकता रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।





