भरतपुर, २४ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । यो हालसम्म एकै दिनमा पुष्टि भएको संक्रमितको सर्वाधिक संख्या हो । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएको जनाएको छ । यस्तै अन्य जिल्लाहरूमा बाँकेमा ४५, मोरङमा ३६९, चितवनमा १४७, सुनसरीमा ३९४, सुर्खेतमा १३४ र रुपन्देहीमा २१५ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा धादिङमा ३८, नवलपुरमा ३६ र मकवानपुरमा पनि ५४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मनाङ र मुस्ताङ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल ११ लाख ६४ हजार ५५७ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १९ हजार ३२० वटा परीक्षण भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ३० हजार ८१८ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १७ हजार १६४ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ६८६ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ९ हजार १०३ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ११ हजार २०६ जना होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३९६ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भई घर फर्किनेको संख्या भने १ हजार २२९ रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । यो कूल संक्रमितको करिब ७०.२ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २७ हजार ३७२ जना संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये २ जना महिला हुन् भने १२ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ६१४ पुगेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशमा मात्रै ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ३२१ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७ जनाको भेण्टिलेटरमा तथा १९६ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





