भरतपुर, २४ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा किंग्स इलवेन पञ्जाब विरुद्ध कोलकत्ता नाइट राइडर्स उत्रँदै छ भने दोश्रो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
पञ्जाब र कोलकत्ताबीचको खेल अबु धाबीस्थित शेख जायद मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । खेलमा कोलकत्ताले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा ६ खेल खेलेको पञ्जाब जम्मा १ खेल जित्दै २ अंकसहित अंकतालिकाको पुच्छरमा रहेको छ । कोलकत्ता भने पाँच खेलबाट छ अंक जोड्दै तालिकाको चौँथो स्थानमा छ । उसले तीन खेलमा जीत र दुईमा हार बेहोरेको छ । कोलकत्ताले आजको खेल जित्दै शीर्ष तीन भित्र पुग्ने चाहना बुन्दै गर्दा पञ्जाब भने आफ्नो हारको शिलशिलालाई अन्त्य गर्ने सुरमा हुनेछ । बेंगलोर विरुद्ध उत्कृष्ट नतिजा निकाल्न सफल भएको पञ्जाबले त्यसपछि भने लगातार ५ खेल गुमाउन पुगेको हो । पञ्जाबका कप्तान समेत रहेका लोकेश राहुल र उनका साथी ओपनर मयंक अग्रवालको प्रदर्शन उत्कृष्ट रहेको भएपनि अन्य खेलाडीको प्रदर्शन भने सोचेअनुसारको हुन सकेको छैन । पञ्जाबले साँच्चै नै खेल जित्ने हो भने आफ्नो विष्फोटक ब्याट्सम्यान क्रिश गेललाई टोलीमा समावेश गर्नुपर्ने देखिन्छ । कोलकत्ताका कप्तान दिनेश कार्तिक भने शुभमन गील, इयोन मोर्गन, सुनिल नरैन, राहुल त्रिपाठी, कमलेश नगरकोटी तथा शिवम् माभीको सुन्दर फर्मका कारण चिन्तारहित देखिएका छन् । यी दुई टोली आइपिएलमा कूल २५ पटक भिडेका छन् । जसमध्ये १७ खेल कोलकत्ताले जित्दा ८ मा भने पञ्जाब विजयी भएको छ ।
चेन्नई र बेंगलोरबीचको खेल भने दुबई क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ । आफूले खेलेका पाँचमध्ये ३ खेल जितेको बेंगलोर ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नई भने छ खेलबाट दुई जीतसहित ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ । फाफ डु प्लेसिस बाहेक अपेक्षा गरिएका अन्य खेलाडीले प्रदर्शन गर्न नसक्दा चेन्नई लगातार हार भोग्न बाध्य बनेको छ । यता दुई खेल हारेको बेंगलोरले भने आफ्नो खेलमा उल्लेख्य सुधार ल्याएको छ । बेंगलोर र चेन्नई एकआपस विरुद्ध हालसम्म २४ पटक मैदानमा उत्रिएका छन् । जसमध्ये १५ खेल चेन्नईले जित्दा ८ खेलमा बेंगलोरले बाजी मारेको छ । यी दुईबीच खेलिएको एउटा खेल भने रद्द भएको छ ।





