भरतपुर, २४ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शुक्रबार राति खेलिएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । उसले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै अंकतालिकामा मुम्बई इण्डियन्सलाई उछिन्दै फेरि शीर्ष स्थानमा पुगेको हो ।
शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउन उत्रिएको राजस्थान १९.४ ओभरमा १३८ रनमा अल आउट भयो । लगातार ४ खेल हार्ने क्रमममा उसको ब्याटिङ फेरि एक पटक फ्लप साबित हुन पुग्यो । उसका लागि यशश्वी जैशवालले ३४ तथा स्टिभ स्मीथले २४ रनको योगदान दिए । विकेटकिपर जोश बटलर १३ रनमा आउट हुँदा राहुल तेवतियाले ३८ रन बनाएर प्याभेलियन फर्किए । राजस्थानका ६ खेलाडी दोहोरो अंकको स्कोर नबनाई आउट भएका थिए । राजस्थानलाई थोरै योगफलमा समेट्न कागिसो रबाडाले ३, रविचन्द्रन अश्विनले २ तथा हर्सल पटेलले १ विकेट लिए । त्यसैगरी मार्कस स्टोइनिसले २ विकेट चट्काउँदा अक्षर पटेल र एन्रिच नोकियाले पनि १–१ विकेट हात पारे । अश्विन म्यान अफ दि म्याच समेत घोषित भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको दिल्लीले मार्कस स्टोइनिस र सिमरन हिटमेयरको शानदार पारीका मद्दतले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोडेको थियो । स्टोइनिसले ३० बलमा ३९ रन जोड्दा हिटमेयरले २४ बलमा ४५ रनको पारी खेले । ५० रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको दिल्लीलाई उच्च स्कोरतर्फ लैजान स्टोइनिसले ऋषभ पन्तसँग चौँथो विकेटका लागि २९ र हिटमेयरसँग पाँचौँ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । यस्तै दिल्लीका हर्सल पटेल र अक्षर पटेलले क्रमशः १६ र १७ रनको स्कोर बनाए । पारीको सुरुवाततिर दिल्लीका ब्याट्सम्यानलाई आफ्नो काबुमा राख्न सफल भएपनि पारीको पछिल्तिर राजस्थानका बलरले खुबै रन खर्चिएका थिए । राजस्थानका लागि जोफरा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रु टाई र राहुल तेवतियाले एक–एक विकेट लिए । दिल्लीका ऋषभ पन्त र कप्तान श्रेयस अय्यर भने रन आउट हुन पुगेका थिए ।
जीतसँगै दिल्लीले आफ्नो पोल्टामा थप २ अंक जोडेको छ । ६ खेलमध्ये ५ खेल जितेको ऊ १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ६ खेल खेल्दा दुई जीत र चार हार बेहोरेको राजस्थानको भने ४ अंक रहेको छ । ऊ लिगको अंकतालिकामा सातौँ स्थानमा छ ।





