३९५ दिनपछि हेमन्त शर्माको स्वरमा अर्को डुएट गीत सार्वजनिक (भिडियो सहित)

भरतपुर, १८ असोज ।

गायक हेमन्त शर्माको स्वर रहेको “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ । शर्माले आइतबार अपराह्न ४ बजे आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो प्रिमियर गरेका हुन् । अघिल्लो वर्ष मात्रै वनमारा बोलको लोक दोहोरी गीतमा स्वर भरेका शर्माले यस पटक आधुनिक विधाको दोहोरी (डुएट) गीत पस्किएका हुन् । गीतमा महिलाको स्वर भने नवगायिका एलिना चौहानले भरेकी छिन् । गीतको संगीत र शब्द पक्ष पनि स्वयम् गायक शर्माले नै सृजना गरेका हुन् । गीतको एरेन्जमेन्टसम्बनधी भूमिका कृष्ण बिकले निभाएका छन् भने अडियो मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । गीतको रेकर्डिङ भने बबरमहलस्थित प्रिज्मा स्टुडियोमा गरिएको हो ।

करिब ८ मिनेट लामो गीती भिडियोमा नायक पल शाह र नायिका रियासा दाहालको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोका निर्देशक नितीन चन्द हुन् भने निर्माणको काम प्रकाश राज र खिमा थापाले गरेका हुन् । यस्तै, भिडियोको सम्पादन पनि नायक पल शाहले नै गरेका हुन् । यस्तै छायाँकनको पाटो भने रूपेश थापाले सम्हालेका छन् ।

कायाकैरनसँग कुराकानी गर्दै गायक हेमन्त शर्माले युवापुस्तासँग थप नजिक हुनका लागि नवआगन्तुक कलाकारसँग सहकार्य गरेको बताए । यस्तै पछिल्लो पटक श्रोताहरूले वनमारा बोलको दोहोरी गीतलाई अत्यधिक मन पराइदिनुभएकाले पनि डुएट गीततर्फ आकर्षित भएको गायक शर्माले बताए । “वनमारालाई लिएर सामाजक सञ्जालमा राम्रा खालका प्रतिक्रिया आएका थिए । टिकटकका भिडियोमा पनि सो गानामा खुबै प्रयोग गरिए”, उनले थपे, “आफूलाई डुएट विधा सुहाउँदो रहेछ भन्ने लागेर फेरि सोही प्रकृतिको गीत गाएको हुँ ।” शर्मा र लोक गीत गायिका विष्णु माझीको स्वर रहेको वनमारा बोलको गीत २०७६ भदौ १९ गते युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

युवा जमातसँग घुलमिल हुन नै शर्माले पछिल्ला दिन सामाजिक सञ्जालमा लाइभ फिचरको पनि उपयोग गर्न थालेका छन् । उनी भन्छन्, “हालसम्म खासै लाइभ आउने गरेको थिइनँ । तर मजस्ता वर्षमा एकदुई ओट गीत गाउनेका लागि गीतको बारेमा जानकारी दिन र श्रोतासँग साक्षात्कार गर्न यो फिचर उपयोगी रहेछ ।” गायिका एलिना चौहानले पनि अग्रज गायकसँग काम गर्न पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् ।

हेमन्त शर्माको “तिमी बाहेक” गीतको भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट