भरतपुर, ८ असोज
३४ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर अर्बिट स्कुलले प्रतियोगितात्मक चित्रकला प्रदर्शनी गरेको छ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा दिने सम्पूर्ण पेशागत कर्मचारीप्रति सम्मान स्वरुप उक्त प्रतियोगिता गरेको हो । प्रतियोगिता भर्चुअल विधिमार्फत गरिएको थियो ।
‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अर्बिट स्कुलले अन्तर्राष्ट्रिय स्तरिय चित्रकला तथा पोस्टर बनाउने प्रतियोगिता २०७७ मा प्रतियोगिहरुले विभिन्न कार्टुनका चित्रकला र कोरोना महामारीको समयमा सेवा दिने अग्रपंक्तिका कामदार प्रति सम्मान स्वरुप बनाएका पोस्टरहरू प्रदर्शन गरिएको थियो ।
चित्रहरूलाई अर्बिट स्कुलको आधिकारिक फेसबुक पेजमा राखिएको थियो । प्रतियोगितामा नेपाल सँगसँगै भारत र इन्डोनेसियाका प्रतियोगिहरूले पनि भाग लिएका थिए ।
७५ प्रतिशत आन्तरिक मूल्यांकन र २५ प्रतिशत प्रतियोगिले पाएका लाईकको आधारमा विजेताको घोषणा गरिएको हो ।
प्रतियोगिताको निर्णायकहरुमा वर्ल्ड आर्ट लिंक रत्ननगरका युवराज खनाल तथा सप्तरङ्ग आर्ट स्कुल भारतका सुनिता सेन गुप्ता रहेका थिए ।
चित्रकला प्रतियोगितामा ५ देखि ७ वर्ष उमेर समुह अन्तर्गत ज्ञानदर्शन अङ्ग्रेजी स्कुल भरतपुरका सुभान मोक्तान प्रथम, सेन्ट थोमस स्कुल नयाँ दिल्ली भारतका आद्विका शर्मा द्वितीय र अर्विट यूनिक स्कुल भरतपुरका कुसुम रानामगर तृतीय भए ।
त्यस्तै ८ देखि १० वर्ष उमेर समूह अन्तर्गत पथभवन स्कुल भारतका श्रेस्थ नाथ प्रथम, पश्चिम बङ्गालका सैनभा दत्त द्वितीय र इलिमेन्टरी स्कुल इन्डोनेसियाका साइलोन मर्गारेथ अन्डारिस्का तृतीय भए ।
११ देखि १३ वर्ष उमेर समूह अन्तर्गत दिल्ली पव्लिक स्कुल भारतका निस्का रेड्डी प्रथम, कृस्ट एकेडेमी भारतका जोन मेरि जोबी द्वितीय र अर्विट यूनिक स्कुल भरतपुरका आदर्श पौडेल तृतीय भए । 
त्यसैगरी पोस्टर प्रदर्शनी प्रतियोगिताको कक्षा ७ देखि ९ समुह
अन्तर्गत एस. डि. जैन हाइअर सेकेन्डरी स्कुल भारतका पृतम मल्लिक प्रथम तथा प्रशान्ती चिल्ड्रेन्स एकेडेमी पाल्पाका दिपेश खनाल द्वितीय भए ।
कक्षा १० देखि १२ समूह
अन्तर्गत प्रनव विद्यापीठ भारतका रिम्पी मल्लिक प्रथम, मुरारी पुकुर गभर्मेन्ट हाइअर सेकेन्डरी स्कुल भारतका पृतम पाल द्वितीय र सिद्धार्थ वनस्थली ईन्स्टिच्युट काठमाडौंका आयशा कार्कीले तृतीय स्थान हासिल गरे ।
लकडाउनका समयमा यसअघि पनि अर्विट स्कुलले भर्चुअल विधिमार्फत फोटोग्राफी, गायन, कविता, चित्रकला प्रतियोगितालगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।





