भरतपुर, २७ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ५३ हजार १२० पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौं जिल्लामा ३७७ जना संक्रमित थपिएका छन् । चितवनमा थपिएका संक्रमितको संख्या भने ९२ रहेको छ । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १५ हजार २६० रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई ८५२ जना घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने ३७ हजार ५२४ पुगेको छ । यो कूल संक्रमितको करिब ७१ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ६ हजार ८२० जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ७ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, लगायत ६ वटा जिल्लामा भने अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३३६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३५४ जना क्वारेन्टाइनमा छन् भने १५ हजार २६० जना आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा मात्रै ५ हजार १४६ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ५१७ जना होम आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ८ लाख ३१ हजार ३६२ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा देशभर १० हजार १७६ परीक्षण भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर २४ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ भने १६० जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा २१ जनाको भेण्टिलेटरमा तथा १०९ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





