भरतपुर, २७ भदौ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार सोही नगरपालिकाका ६ जना कर्मचारी सहति ३४ जनामा एकैपटक संक्रमण पुष्टि भएको छ । केही दिन अगाडि देवचुली नगरपालिकाको एक जना सवारी चालकमा संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय नै शिल गरिएको थियो ।
देवचुली नगरपालिकाका कार्यालयका ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि भएका ३४ जना मध्ये दुई जना क्वारेन्टाइन र अन्य ३२ जना कन्ट्याक ट्रेसिङ्गको आधारमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले बताए ।
शनिबार देवचुली नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुष (नगरपालिकाका कर्मचारी), र देवचुली ४ का मलेसिलाबाट आएका ४० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी देवचुली नगरपालिका ७ का ३६ वर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी) र ३८, ४० र ४६ वर्षीय स्थानीय ३ जना पुरुषमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी देवचुली नगरपालिका ८ का ३० देखि ४७ वर्ष उमेर समूहका ११ जना पुरुष, देवचुली ९ का ३०, ३६, ४९, ६५ वर्षका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी देवचुली १० मा युएईबाट आएका ३० वर्षीय १ जना महिला, देवचुली ११ मा ३५ वर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी) र ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
देवचुली १२ का ४१ र ४८ वर्षीय दुई जना पुरुष (नगरपालिकाका कर्मचारी), देवचुली १४ मा ३६ वर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी), ६, १५ र ४० वर्षीया महिला, ३४, ३७, ४४ र ५२ वर्षीय ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
देवचुली नगरपालिकामा शनिबार थपिएका ३४ जना सहित संक्रमितको कुल संख्या १०९ पुगेको छ । यी मध्ये ३२ जना डिस्चार्ज भएका छन् भने १ जनाको निधन भएको छ ।
नवलपुरमा शुक्रबार पनि विनयीत्रिवेणी गाउँपालिकाका १८ जना, कावासोती नगरपालिकाका ११ जना, गैंडाकोट नगरपालिकाका ५ जना र देवचुली नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको थियो ।
योसँगै नवलपुरमा संक्रमितको संख्या ६ सय ५२ पुगेको छ । नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् ।





