भरतपुर, २७ भदौ ।
अस्ट्रेलिया र इंगल्याण्डबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार खेलिएको खेलमा उसले घरेलु टोलीलाई १९ रनले पराजित गरेको हो । जीतका लागि २९५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७५ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउडको घातक बलिङको सामु इंग्लिस ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । इंगल्याण्डले एक समय ५७ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । सेम बिलिङ्सले ओडिआई करियरको पहिलो शतक प्रहार गरेपनि टिमलाई पार लगाउन भने सकेनन् । बिलिङ्स ११८ रन बनाएर आउट हुँदा जोनी बेयरस्टोले ८८ रनको पारी खेले । इंगल्याण्डको पारीमा हेजलउडले ३ विकेट लिँदा स्पीनर एडम जाम्पाले ४ विकेट हात पारे । म्यान अफ दि म्याच घोषित भएका हेजलउडले १० ओभरको स्पेलमा ३ मेडेन राख्दै जम्मा २६ रन खर्चिएका थिए । त्यस्तै प्याट कमिन्स र मिचेल मार्सको नाममा पनि १-१ विकेट रह्यो ।
यसअघि ओल्ड ट्राफोड मैदानमा इंगल्याण्डले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाको सुरुवात पनि सम्झन लायकको भने थिएन । उसले १२३ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । यद्यपि ग्लेन मेक्सवेल र मिचेल मार्सको संकटमोचक पारीको मद्दतमा अष्ट्रेलियाले २९४-९ को योगफल बनाउन सफल रहेको थियो । मार्स र म्याक्सवेलले छैटौं विकेटका लागि १२६ रनको साझेदारी गरेका थिए । मार्सले ७३ रन जोड्दा मेक्सवेलले ७७ रनको योगदान दिए । त्यसैगरी अलराउण्डर मार्कस स्टोइनिसले पनि ४३ रनको महत्त्वपूर्ण पारी खेले । इंगल्याण्डका लागि जोफरा आर्चर र मार्क वुडले ३-३ विकेट चट्काउँदा अदिल रसिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।
जीतसँगै अस्ट्रेलियाले ३ म्याचको शृंखलामा १-० को अग्रता लिएको छ । यता आइसीसी वर्ल्ड कप सुपर लिगमा पनि कंगारु टोलीले १० अंक जोडेको छ । यी दुई टोलीबीचको दोश्रो एकदिवसीय खेल आइतबार खेलिने तालिका रहेको छ ।





