राधा कोइराला प्राध्यापन गर्छिन् । साहित्यिक परिवारमा हुर्किएकी कोइरालामा कविता लेखनको रुचि २०५० को वरपर जागेको हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर कविता, गजल र कथा प्रकाशित छन् । गद्य र पद्य दुवै ढाँचामा कविता लेख्ने कोइरालाको ‘जीवनको पाठशाला’ कवितासङ्ग्रह प्रजाशनको संघारमा छ । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको उक्त काव्य कृतिका सन्दर्भमा कोइरालासँग गरिएको छोटो कुराकानी–
कविता धेरैले लेख्छन् तर कमैले पढ्छन् । किन होला ?
साहित्यका विविध विधामध्ये कविता धेरै लेखिने र कम पढिने विधा हो । अनुभूतिलाई प्रभावकारी, सूत्रात्मक, सांकेतिक र व्यञ्जनात्मक संक्षिप्त रूपमा प्रस्तुत गर्न सकिने हुँदा कविता धेरैले लेख्छन् । कविताको भाषा बिम्बात्मक, प्रतीकात्मक र आलंकारिक हुन्छ र कविताको सौन्दर्य पनि यही हो । भाव वा विचारलाई सोझै अभिव्यक्त गर्दा कविता बन्न सक्दैन ।
काव्यात्मक भाषा आमपाठकको बोधको स्तरभन्दा पर पुग्छ । यही कारणले होला कविताभन्दा आख्यान, निबन्ध लगायतका विधाप्रति पाठक आकर्षित हुन्छन् । २० को दशकमा आएका प्रयोगवादी कविता ज्यादै दुर्बाेध्य थिए जसका कारण पाठक र लेखकका बिचमा दूरी थियोे । अचेल राम्रा कवितालाई पाठकले मन पराइरहेका छन् ।
तपाईंलाई कविता लेखनमा के ले तान्यो ?
म साहित्यिक परिवारमा जन्में, हुर्कें । बाल्यकालदेखि नै साहित्यिक पुस्तक पढ्न पाएँ । पिताजी तीर्थराज कोइराला कवि हुनुहुन्थ्यो । लेखनाथ, माधव घिमिरे, देवकोटा आदि कविहरूका कविता बाल्यकालदेखि नै कण्ठस्थ थिए । भूपीका गद्य कविता सारै मन पर्थ्यो । साहित्यको विद्यार्थी भएकाले पनि यसमा विशेष रुचि जाग्ने नै भयो । अनि कुनै विषयले छुँदा कविता कोर्न थालें । यो क्रम बिस्तारै बढ्न थाल्यो ।
शिक्षण पेसा र घरायसी काममा व्यस्त हुनुपर्दा साहित्य सिर्जनामा अवरोध आउँछ वा जीवन भोगाइका विविध सन्दर्भले सिर्जनामा थप ऊर्जा प्राप्त हुन्छ ?
फुर्सद हुँदैमा फटाफट साहित्य सिर्जना हुन्छ वा गरिन्छ भन्ने हुँदैन । जीवन निर्वाहका क्रममा हामी कुनै न कुनै पेसामा आबद्ध त हुन्छौं नै । अधिकांश महिला त पेसा सँगसँगै घरायसी काममा पनि व्यस्त हुन्छन् । कहिलेकाहीं लेख्नका लागि मानसिक रुपमा तयार भए पनि लेख्न भ्याइँदैन । तथापि हामी बाँचेको समाज, परिवेश, घटना, भोगाइ र अनुभूति नै सिर्जनात्मक स्रोत हुने भएकाले जीवन भोगाइका क्रममा साक्षात्कार हुने विविध सन्दर्भले साहित्य सिर्जनामा ऊर्जा प्राप्त हुँदो रहेछ ।
कविताबाहेक साहित्यका कुन विधामा तपाईंका रचना प्रकाशित छन् ?
कविता मेरो सर्वप्रिय विधा हो । अध्ययन सबै विधाको गरिन्छ । कविताबाहेक केही कथा र गजल लेखेकी छु । तर पुस्तकका रूपमा प्रकाशित भएको चाहिँ छैन ।
‘जीवनको पाठशाला’ मा कस्ता कविता छन् ?
यसमा गद्य र पद्य गरी दुई खण्ड छन् । यी कविताहरू सामाजिक विसंगति, मानवीय मूल्यको खोजी, लैंगिक विभेद, राष्ट्रियताजस्ता विषयमा केन्द्रित छन् । यो मैले भन्दा पनि पाठकले मूल्यांकन गर्ने विषय हो ।
मोफसलमा पेसा व्यवसायमा व्यस्त रहेर पनि साहित्य सिर्जनामा सक्रिय अन्य स्रष्टाहरूलाई के भन्नुहुन्छ ?
मोफसलमा रहेर आफ्ना पेसा व्यवसायमा व्यस्त रहने र साहित्य सिर्जनामा सक्रिय थुप्रै स्रष्टाहरू हुनुहुन्छ । म चितवनको मान्छे । चितवनमै धेरै अग्रज र समकालीन स्रष्टाहरू हुनुहुन्छ । जसले स्तरीय कृतिहरू सिर्जना गर्नुभएको छ । राष्ट्रिय स्तरमा चर्चा कमाइरहनुभएको छ ।
स्वाभाविक रूपमा केन्द्रमा रहेर साहित्य सिर्जनामा सक्रिय रहँदा मोफसलमा रहँदाभन्दा धेरै अवसर प्राप्त हुन सक्छन् । तथापि वर्तमान समय सूचना र सञ्चारको हो । साहित्य पनि प्रविधिमैत्री भइसकेको छ । त्यसकारण प्रतिभासम्पन्न स्तरीय सर्जकहरूले ख्याति पनि प्राप्त गरिरहनुभएको छ । पहिलेको जस्तो ‘मोफसल पीडा’ अहिले छ जस्तो लाग्दैन ।
तपाईंको कविता संग्रह किन पढ्ने ?
सामान्य रूपमा साहित्य पठनको उद्देश्य मनोरञ्जन प्राप्ति, आनन्द प्राप्ति, समाज र जीवनजगतप्रति लेखकको दृष्टिकोण बुझ्नु नै हुने भएको हुनाले यससङ्ग्रहबाट पनि पाठकलाई कुनै न कुनै उद्देश्य प्राप्त हुनेछ भन्ने अपेक्षा गरेकी छु ।
(नेपालसमयबाट साभार)





