भरतपुर, २१ भदौ ।
अष्ट्रेलिया विरुद्धको टिट्वान्टी शृंखलाको दोश्रो खेलमा पनि इंगल्याण्ड विजयी भएको छ । उसले खेलमा ६ विकेटको जीत हात पारेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको सामान्य लक्ष्यलाई इंगल्याण्डले खेल सकिन ७ बल बाँकी छँदै भैट्टायो । उसलाई जीतसम्म डो¥याउन दाँया हाते ओपनर ब्याट्सम्यान जोश बटलर नायक साबित बने । उनले ५४ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा नट आउट ७७ रन जोडे । खेलमा उनी म्यान अफ दि म्याच समेत घोषित भएका थिए । यस्तै डेविड मलानले ४२ रनको योगदान गर्दा अर्का ओपनर जोनी बेयरस्टो भने दुर्भाग्यशाली रहँदै ९ रनको व्यक्तिगत स्कोरमा हिट विकेट आउट हुन पुगे । यस्तै बाँया हाते मध्यक्रमका ब्याट्सम्यान मोइन अलीले पनि ६ बलमा नट आउट १३ रन जोडे । बलिङतर्फ भने एस्थोन एगरले दुई विकेट हात पार्दा फास्ट बलर मिचेल स्टार्क र स्पीनर एडम जाम्पाले समान एक–एक विकेट लिए ।
यसअघि साउथह्याम्प्टनमा कंगारु टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । कप्तान एरोन फिन्चको ब्याटिङमाथि निर्भर बनेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको सामान्य योगफल तयार पारेको थियो । उसका कप्तान फिन्चले ३३ बलमा ४० रन जोडे । क्रिस जोर्डनको बलमा बोल्ड हुनुअघि फिन्चले दुई छक्का र दुई चौका प्रहार गरेका थिए । इंग्लिस बलरहरूको कसिलो बलिङका सामु निरीह बनेको अष्टे«लियाले एक समयमा ३ रनमै २ विकेट गुमाएको थियो । उसलाई सम्मानजनक अवस्थामा पु¥याउन मार्कस स्टोइनिसले ३५ रनको योगदान गरे । त्यस्तै, ग्लेन मेक्सवेल २६ रन बनाएर आउट हुँदा एस्थोन एगरले पनि जम्मा २३ रन जोड्न सके । पुच्छरमा ब्याटिङ गर्न आएका प्याट्रिक कमिन्सले ५ बलमा तुफानी १३ रन जोड्दै दबाबलाई हटाउने प्रयास गरेका थिए । इंगल्याण्डका लागि क्रिस जोर्डनले दुई विकेट लिँदा जोफरा आर्चर र मार्क वुडले पनि एक–एक विकेट हात पारे ।
जीतसँगै इंगल्याण्डले तीन म्याचको शृंखलामा २–० को अग्रता लिएको छ । लगातार दोश्रो खेल जित्दै घरेलु टोलीले शृंखला सकिनुअघि नै नतिजा आफ्नो पक्षमा पारेको हो । यी दुई टोली बीचको तेश्रो तथा अन्तिम टि–ट्वान्टी खेल मंगलबार खेलिने तालिका रहेको छ ।





