अस्पतालबाट नर्स आमाको चिट्ठी छोराछोरीलाई

प्यारा छोराछोरी
तिमीहरूलाई धरै माया अनि धेरै सम्झना ।
हामी घर नआएको पनि धेरै भयो । तिमीहरू कत्ति आत्तिएका हौला, हामीलाई देख्नका लागि तड्पिएका हौला । आमाको काखको न्यानो आलीङ्गन पर्खेर बसेका हौला । यी सबै कुरा हामी आमा हुनुको नाताले तिमीहरूका सारा रहर अनि दुखाइहरु हृदयदेखि नै राम्रोसँग अनुभूत गर्न सक्छौँ । हामीलाई यो पनि थाहा छ तिमीहरू निडर, साहसी र बुझ्ने पनि छौ ।यतिबेला तिम्रा कलिला मस्तिष्कमा केके कुराहरू गुन्जिरहेका होलान् त्यो पनि हामीले बुझ्दछौँ ।

प्यारा बाबुनानी,
हामी नर्स हुनुकै कारण तिमीहरूले यहि समाजका मान्छेहरूबाटै अपहेलित हुनु परेको छ । तिम्रा ती कलिला मस्तिष्कमा कस्तो प्रभाव पर्ला भन्ने नसोचिकन यहाँका सामाजिक व्यक्तित्वहरूले नै कोरोना संक्रमितका परिवार भनेर बहिष्कार र अपहेलनाको सिकार बनाएका छन् । तिमीहरूले यो पनि राम्रोसँग बुझेका छौ की ति तिनै हुन् जो हिजो अस्पतालको बेडमा हुँदा तिम्रा आमाहरूको हातबाट औषधि खाएर नयाँ जीवन प्राप्त गरेका थिए । आज उनीहरू नै हामीलाई शत्रुवत व्यवहार देखाईरहेका छन् । हामी विवश छौं, यता समाजको दुर्व्यबहार अनि उता कोभिड महामारी बिचको लडाईँ जस्तोसुकै जे भए पनि तिमीहरू कत्ति पनि बिचलित नहुनु । तिमीहरू बलियो बनेर बस्न सक्यौ भने हाम्रा लागि सबैभन्दा ठूलो तागत हुनेछ ।

अनि अर्को कुरा के भने यो समाजका अराजक व्यक्तिहरू जस्तो तिमीहरू कहिल्यै नहुनु । नत्र उनीहरू र हामी बिच केही फरक रहने छैन । यही उपदेशका साथ तिम्रा आमाहरू कोभिड१९ विरूद्धको लडाईँ जितेर फर्कने बाचा गर्दछौँ ।
तिमीहरू धैर्य र संयमित भएर घरमै बस्नु । बेलाबेलामा साबुनपानीले हात धुनु । घर बाहिर जाँदा अनिवार्यरूपमा मास्क लगाउनु । सकेसम्म भीडभाडमा नजानु है । आजलाई यत्ति नै ल ।

तिमीहरूलाई मुटुको कुनामा राखेर कोभिड विरुद्धको लडाईँ लडिरहेका तिम्रा आमाहरू ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट