भरतपुर, २१ भदौ ।
तेह्रौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेटको सर्वाेच्च निकाय भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । उसले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता १९ सेम्टेम्बरदेखि सुरु हुने भएको हो । अन्य वर्ष मार्च–अप्रिल महिनामा सञ्चालन हुने प्रतियोगिता यस पटक भने कोरोना महामारीका कारण पछाडि सरेको हो । भारतमा कोरोना संक्रमण फैलने दर उच्च रहेको भन्दै बीसीसीआईले यस पटकको प्रतियोगिता संयुक्त अरब एमिरेट्समा सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रतियोगिता खेल्ने आठ ओटै टोलीका खेलाडीहरू यसअघि नै युएई पुगेर बन्द तयारी थालिसकेका छन् ।
आइतबार सार्वजनिक भएको खेल तालिका अनुसार अबु धाबीमा खेलिने पहिलो खेलमा साबिकको विजेता मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ । लिगको अन्तिम खेलमा भने मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादसँग खेल्नेछ । खेलहरू अबु धाबी, सारजाह र दुबई गरी तीन शहरमा उच्च सतर्कताका साथ आयोजना गरिने आयोजकले बताउँदै आएको छ । खेलाडीहरूलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन बीसीसीआईले विभिन्न मापदण्ड समेत तोकिसकेको छ । युएई पुगेर आइसोलेसनमा बस्नुपूर्व नै खेलाडीहरूले पाँच पटक पीसीआर टेष्ट गराइसकेका छन् । खेलाडीहरू खेलको क्रममा एक शहरबाट अर्काे शहर जानुअघि प्रत्येक पटक आफ्नो पीसीआर परीक्षण गराउनुपर्ने र रिपोर्ट नेगेटिभ देखिएको खण्डमा मात्रै यात्राका लागि अनुमति मिल्ने बताइएको छ ।
प्रतियोगिताको नक आउट चरणको तालिका भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता होम एण्ड अवे राउण्ड रोबिनका आधारमा खेलाइने छ ।
IPLT20 Schedule 2020 – IPLT20.com
Provides IPL T20 match schedule.





