२४ घण्टामा १८१४ जना संक्रमणमुक्त

भरतपुर, २१ भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितमध्ये २९० जना महिला हुन् भने ६९० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी २९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, चितवनमा ३० जना संक्रमित थपिएका छन् । प्रदेश १ मा सबैभन्दा बढी सुनसरीमा ८६ जना संक्रमित थपिएका छन् भने प्रदेश नं २ को बारामा ७३ जना नयाँ संक्रमित देखिएका छन् । देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने १७ हजार २७ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट मुक्त भई १८१४ जना घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने २८ हजार ९४१ पुगेको छ । वाग्मती प्रदेशमा मात्रै हालसम्म ३ हजार ६५९ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न ५ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । काठमाडौं, चितवन, पर्सा लगायत १२ वटा जिल्लामा भने अझै पनि सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या २८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमध्ये २ जना महिला र बाँकी ७ जना पुरुष रहेका छन् । मृतक महिलाहरू झापा र मोरङ जिल्लाका हुन् । मन्त्रालयका अनुसार मृतक पुरुषहरूतर्फ ३ जना काठमाडौंका हुन् भने अन्य ४ चितवन, मोरङ, पर्सा र धनुषा जिल्लाका हुन् ।

यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन् भने १७ हजार २७ जना आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३४५ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा जम्मा १० हजार ३८२ वटा पीसीआर परीक्षण गरिएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर २७ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमा २१ जना वाग्मती प्रदेशका रहेका छन् । यस्तै देशभर १७४ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा मात्रै १०९ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट