रत्ननगर, २१ भदौ
चितवनको रत्ननगर–५, टरौलीमा रहेको आईसोलेसन सेन्टरका कोरोना संक्रमितहरुलाई स्थानीयले पौष्टिक आहार र स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
स्थानीय स्तरमा गठन गरिएको विषेश विपद व्यवस्थापन राहत कोषले त्यहाँ रहेका संक्रमितहरुलाई मह,अण्डा,विस्कुट,चाउचाउ,माक्स,सेनिटाईजर प्रदान गरेको हो ।
कोषका संयोजक समेत रहेका रत्ननगर–५ का वडाध्यक्ष कृष्ण महतोसहित कोषका पदाधिकारीहरु आईसोलेसन सेन्टरमै पुगी सो सामाग्री खैरहनीका मेयर लालमणि चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
सो आईसोलेसन सेन्टरमा हाल २६ जना कोरोना भाईरस संक्रमण देखिएकाहरु रहेका छन् । टरौलीमा रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रमा सयुक्त रुपमा पूर्वी चितवनका रत्ननगर,खैरहनी,कालिका र राप्ती नगरपालिकाले आईसोलेसन सेन्टर वनाएका छन् ।
सामग्री हस्तान्तरणका अवसरमा खैरहनीका मेयर लालमणि चौधरीले कोरोना भाईरसबाट संक्रमित भएकाहरु अपमानित भएका समाचार आईरहेका वेला कोषले गरेको सहयोग उदाहरणीय रहेको वताए । वैदेशिक रोजगारीमा रहेकाहरु र स्थानीयबाटै संकलित सहयोगबाट विषेश विपद व्यवस्थापन राहत कोष वनाईएको हो ।
मेयर चौधरीले संक्रमण देखिदैमा आत्तिन नपर्ने भएकाले उनीहरु प्रति देखाउने व्यवहार सकारात्मक हुनु पर्ने औँल्याए । “कोरोना संक्रमण जसलाई पनि हुन सक्छ,उनीहरुलाई अपहेलना गर्न हुन्न” रत्ननगर–५ का वडाध्यक्ष महतोले भने–“ मानवीय नाताले उनीहरुलाई सहयोग र सद्भाव देखाउनु पर्छ ।”
सो स्थानमा आईसोलेसन सेन्टर वनाउन हुदैन भनेर सुरुमा विरोध समेत भएको थियो तर अहिले स्थानीयले सदासयता देखाउन थालेको वडाध्यक्ष महतोले वताए । सो आईसोलेसनमा रहेकाहरुलाई खैरहनी स्थित राधा स्वामी ब्यास नेपालले निशुल्क खानाको समेत व्यवस्था गरेको छ ।





