खैरहनी, २१ भदौ ।
जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै खैरहनी नगरपालिका र वडा कार्यालयमा नियमित सेवा प्रवाह सुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण स्वास्थ्य, सरसफाइबाहेक अन्य काम रोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाए पछि आइतबार आज देखि नियमित काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेतम शर्माले जानकारी दिए । शर्माका अनुसार नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सबै काम सुरु भएको हो । तर नगरपालिका कार्यालयमा जोरबिजोर प्रणाली यथावत रहेको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जोर बारको दिन जोर वडा र बिजोर बारको दिन बिजोर वडाका स्थानीयले सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । राजस्व संकलन, सिफारिसलगायतका काम सोही अनुसार हुनेछ । नगरप्रमुख लालमणी चौधरीले सामाजिक दूरी कायम राख्नुका साथै मास्क अनिवार्य लगाएर सेवा लिन आउन आग्रह गरेका छन् ।
नगरपालिकाले कार्यालयको गेटमा सेनिटाइजरको व्यवस्था गरेको छ भने राजस्व शाखामा टोकनको व्यवस्था मिलाएको छ ।





