भरतपुर, १ भदौ
नेपाल पत्रकार महासंघ चितवनले पत्रकार तथा सञ्चारमाध्यमलाई विपद्को बेला समाचार संकलन तथा सम्प्रेषण गर्दा होसियारी अपनाउन भनेको छ ।
महासंघले आज जारी गरेको विज्ञप्तिमा ‘उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर पत्रकारले सूचनाको क्षेत्रमा काम गरिरहेको भन्दै त्यसो गर्दा सतर्क बन्न’ अनुरोध गरेको छ ।
पढौं नेपाल पत्रकार महासंघ, चितवनले जारी गरेको विज्ञप्ति
नेपाल पत्रकार महासंघ, चितवन
मिति : २०७७ भदौ १ गते
प्रेस विज्ञप्ति
चितवनमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लाका ६ वटा पालिकामा निषेधाज्ञा जारी गरेको छ । हामी कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिममा छौँ । उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर हामीले सूचनाको क्षेत्रमा काम गरिरहेकै छौँ ।सरुवा रोगको महामारीले उत्पन्न गराएको संकटको यो समयमा उच्च सतर्कताका साथ आफ्नो कर्म गर्नका लागि तपसिलका विषयमा ख्याल राख्न र पालना गर्न जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछौँ ।
१) आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै सम्भव भएसम्म निषेधाज्ञाको अवस्थामा घरभित्रै बसौँ । समाचारका लागि सूचना लिनुपर्दा ई–मेल, मोबााइल फोन, टेलिफोन, सामाजिक सञ्जाल आदि माध्यमलाई बढी प्रयोग गरौं । प्रत्यक्ष नभेटी नहुने भएमा मात्रै सामाजिक दूरी कायम गरेर भेटौँ ।
२) आफ्नै सवारीसाधन प्रयोग गरौँ, अरुलाई लिफ्ट नदिऔँ र अरुसँग लिफ्ट पनि नमागौँ । आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ । देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाऔँ ।
३) स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कबाट टाढा रहौँ । भिडभाडमा नजाऔंँ, अपरिचित, शंकास्पद र बाहिरका वस्तु नछोऔँ । आफूले प्रयोग गर्ने सञ्चारसामग्रीहरु नियमित सेनिटाइज गरौँ । अन्य साथीहरुले प्रयोग गर्दै आएका सञ्चारसाधनहरु सकेसम्म प्रयोग नगरौँ ।
४) संकटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गरौँ । हतारो र अनावश्यक प्रतिस्पर्धा नगरी आधिकारिक नियकाबाट अधिकारिक व्यक्तिले दिएको सूचनलाई मात्र प्राथामिकता दिने गरौँ । बरु ढिलो दिऔँ, सत्य खबर मात्रै दिऔँ ।
५) संक्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा व्यक्तिगत गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राखौँ ।
६) सामाजिक सञ्जालमा हामीले पोष्ट गर्ने विषयले खास अर्थ राख्दछ, त्यसैले सामाजिक सञ्जालमा विषयहरु लेख्दा र पोष्ट गर्दा विशेष ख्याल राखौँ ।
७) जिल्लामा कार्यरत पत्रकारहरुको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि सम्बन्धित निकायसँग महासंघले सहजीकरण गर्दै आएको छ । कोही कसैलाई तत्कालै परीक्षण गराइहाल्नुपर्ने अवस्था भएमा पत्रकार महासंघमा सम्पर्क गरौँ ।
यो संवेदनशील समयमा अत्यन्त चनाखो र जिम्मेवार भएर काममा खटिन पनि महासंघ आग्रह गर्दछ । पत्रकारहरुको मनोबल उच्च राख्न र जस्तोसुकै सहयोग गर्न पनि महासंघ तयार छ ।
राधेश्याम खतिवडा
अध्यक्ष





