रत्ननगर, १ भदौ
चितवनको राप्ती नगरपालिकामा कोरोना पुष्टि भएका दुई बालिकाहरु संक्रमण देखिएका महिलाकी छोरीहरु रहेको खुलेको छ ।
साउन २९ गते गरिएको परीक्षणमा राप्ती–९ का ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङबाट उनका ९ र ६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।आइतबार राति गरिएको परीक्षणमा ती बालिकाहरुमा पनि संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिला भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत छिन् भने बालिकाहरु भरतपुर स्थित अंकलको घरमा थिए । ती बालिकाहरुमा कोरोना पोजिटिभ देखिएपछि अंकलका घरका सदस्यहरु पनि ट्रेसिङमा परेका छन् ।
ती बालिकाहरुको भरतपुर अस्पतालबाटै स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि हुनु अघि ती महिला स्थानिय विभिन्न कार्यक्रम तथा बैठकमा गएको समेत पाइए पछि त्यस क्षेत्रमा उनको सम्पर्कमा रहेकाहरुको सोमबार स्वाब संकलन गरिएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।
आइतबार राति गरिएको परीक्षणमै राप्ती–२ का ८६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती महिला हेटौंडाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए । हेटौंडा आफन्तकोमा पनि कोरोना पुष्टि भए पछि उनी घर आइ होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
ती वृद्धामा संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल पठाउने तयारी भइरहेको राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।





