भरतपुर, १२ साउन
भरतपुरको मैयाँदेवी क्याम्पस अगाडिको चौरमा मृत अवस्थामा भेटिएका राजकुमार गुरुङको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको छ । भरतपुर–१४ शिवनगरका गुरुङको शव असार २३ गते झाडीमा बोरामा बाँधिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न तनहुँको भानु नगरपालिका वडा नम्बर ४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १० कवर्डहलको आडै बसोबास गर्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका वडा नम्बर १ घर भई हाल भरतपुर–१० कवर्डहलमा बसोबास गर्ने ३० वर्षीय अमृत भन्ने अम्मर बहादुर थिङ, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ घर भई हाल भरतपुरको कवर्डहलको आडैमा बसोबास गर्ने २४ वर्षीय सागर ओली र भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्ज बस्ने ३१ वर्षीय प्रकाश बिकलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी सूर्यबहादुर थापाले उपलब्ध गराएको विवरणअनुसार गेष्टहाउस चौरको मञ्चमा अस्थाई बसोबास गर्ने कमल गन्धर्वले व्यावसायिक प्रयोजनको लागि प्रतिदिन १ सय ५० रुपैयाँको दरले भाडामा लिएको ठेला रिक्सा मृतक राज कुमार गुरुङले केही समयको लागि मागेर लिएर गएक राजकुमार गुरुङ सोही दिनबाट सम्पर्कविहीन भएका थिए । ठेला रिक्सा प्राप्त गर्नको लागि खोजी गर्नेक्रममा असार १९ गते साँझ भरतपुर–१० स्थित मालपोतचोकमा फेला पारेको र राजकुमार गुरुङको साथमा ठेला रिक्सा नभएका कारण उनलाई नियन्त्रणमा लिई आफू बसोबास गर्ने स्थान गेष्टहाउस चौरमा ल्याएका थिए ।
त्यहाँ ल्याएपछि कमल गन्धर्व र उनकी श्रीमती लक्ष्मी मगरसमेतले अम्मरबहादुर थिङ, सागर ओली, र प्रकाश बिकसमेतलाई बोलाई घटनाको बारेमा जानकारी गराएपछि सामूहिक रुपमा मरणासन्न हुनेगरी कुटपिट गरेको घटना विवरणमा उल्लेख छ । कुटपिटको क्रममा राजकुमार गुरुङले ठेला रिक्सा कालिका नगरपालिका स्थित पदमपुरमा बिक्री गरेको बताएका थिए ।
त्यसपश्चात कमल गन्धर्वले अटो रिक्सा रिजर्भगरी लक्ष्मी मगर, अम्मर बहादुर थिङ्, सागर ओली, प्रकाश बिक राजकुमारलाई लिएर रिक्सा लिन पदमपुर गएका थिए । त्यहाँ रिक्सा नभेटेपछि राती ९ बजेतिर उनीहरु पुनः गेष्ट हाउस चौरमै फर्किए । त्यसपछि कमल गन्धर्व, राजकुमार गुरुङलगायतका केही मानिसहरु उक्त स्थानमा नै बसेर अन्य मानिसहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए । रातको अन्दाजी १०ः३० बजे राजकुमार गुरुङको सोही गेष्ट हाउस चौरको मञ्चमा मृत्यू भएको प्रहरीले जनाएको छ । कमल गन्धर्वले सो विषयमा अन्य कुटपिट गर्ने व्यक्तिहरुसँग सम्पर्कगरी जानकारी गराएर घटनालाई लुकाउन र अपराधबाट बच्नको लागि शवलाई वोरामा बाँधेर एकान्त स्थानको छनौट गरी फाल्ने योजना बनाएका थिए ।
उनीहरुले केन्द्रीय टर्मिनल बसपार्कबाट ठेला रिक्सा घटनास्थलसम्म ल्याई शवलाई बोरामा बाँधेर भित्री सडकको प्रयोग गरी शव फेला परेको स्थान सम्म पु¥याएर फालेको थापाले बताए । उनीहरुको शव फेला परेको दिन नै पहिचान तथा पक्राउ गरेर कर्तव्य ज्यान कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थापाले बताए । अभियुक्तहरु मध्ये एकजना वालक भएकाले पहिचान गोप्य राखिएको प्रहरीले बताएको छ ।
घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।





