भरतपुर/गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडकखण्ड कुरुप देखिएको छ । हरेक ठाउँमा आएको पहिरो, बाटो माथिबाट बगेको लेदो र सडक भासिएका कारण यो सडकखण्ड क्षतविक्षत देखिन्छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेका छन् ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगीमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै ठाडो खोलाले बगाएको थियो । जसले त्यहाँ ३ दिनसम्म गाडी आवागमन नै रोकिएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको छ । तर, दुईतर्फी अझै भएको छैन । दर्जनौँ कामदार खटाएर अहिले पनि त्यहाँ काम गरिँदै छ । पुल र सडक जोडिएको करिब ५ मिटर सडक बगाएपछि आवागमन रोकिएको थियो । अहिले ग्याबिन जालीमा ढुंगा भरेर बाटो खुलाइएको छ । त्यहाँ यही साउन ५ गते बिहान सडक बगाएको थियो ।

मौवाखोला आसपास सडक कुरुप देखिन्छ । नजिकै रहेको जबाङ खोलामा ठूलो क्षति भएको छ । त्यहाँ हेटौँडा सिमेन्ट उद्योगले कच्चापदार्थ चुनढुंगा उत्खनन् गर्ने खानी छ । त्यहीँबाट बगेर आएको खहरेको भेलले कैयौँ ट्रक, ट्रिपर र एक्जाभेटर र घरसमेत बगाएको छ । सडकमा लेदो थुपार्दा बिग्रिएको देखिन्छ । ओभानो हुनासाथ धुलोले हिँडिसाध्यै छैन । पानी परेपछि फेरि लेदो बग्ने समस्या । जबाङ खोला नजिकै करिब २० मिटर जति सडक आधा पहिरोले लगेको छ । जसले गर्दा बाटो एकतर्फी भएको छ ।
राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षाले निकै नोक्सान पुगेको अधिकारी बताउँछन् । उनले भने, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ । पहिरो खसेको, धसिएको ठाउँ, बगाएको सडकलगायतका क्षेत्रमा कालोपत्रमा नोक्सानी भएको छ ।”

छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उनको भनाइ छ । क्षतिको विवरण संकलन गरेर लगत अनुमान तयार गरी प्रक्रियामा अघि बढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारी बताउँछन् । सो सडक खण्ड बिस्तारका लागि विश्व बैंकको सहयोगमा परियोजना अघि बढेकाले धेरै खर्च गर्ने पक्षमा सडक विभाग छैन । अधिकारीले भने, “अत्यावश्यक काम मात्र हामी गर्छौं ।” सो सडकखण्डमा छदेखि सात मिटर फराकिलो कालोपत्र छ । अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्कोतर्फ त्रिशूली नदी पर्दछ ।
बाटोको हालत मुग्लिङ–नारायणगढमा पनि हेरिसाध्यै छैन । यहाँको सडक मर्मत गरेर निकै सुन्दर बनाएको थियो । तर, यसपालि बिगारेको छ । कतै पहिरोले बिगारेको छ त कतै सडक भासिएको छ । सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिङ सडकको चार किलो र १६ किलोमा पटक–पटक पहिरो खस्दा समस्या हुने गरेको छ । यहाँ जतिखेर पनि ढुंगा झरेर सवारीसाधनमा लाग्नसक्ने खतरा छ ।
दुई वर्षअघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो । दुवै ठाउँमा अझै दुईतर्फी सडक सञ्चालन हुन सकेका छैनन् । यस सडकखण्डमा पनि ठाउँ–ठाउँमा साना पहिरो खस्दा क्षति पुगेको छ । सडकमाथिको डाँडामा ग्रामीण क्षेत्रमा बनाइएका बाटामा पानी एकीकृत भएर एकै ठाउँबाट खस्दा मूल सडकमा क्षति पुगेको अधिकारी बताउँछन् । यससँगै वर्षात् बढी भएकाले सडकमा नोक्सान गरेको उनको भनाइ छ । दिउँसो यी सडकमा कुहिरीमण्डल धुलोले बाटो नदेख्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।





