परीक्षालाई लिएर विद्यार्थीहरूको आपत्ति

file photo

शिव गौतम
भरतपुर, ११ साउन
नेपाल सरकारले भदौ १ गतेदेखि विद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी भर्ना कार्यक्रम सुचारु गर्न सकिने भनी मार्गप्रशस्त गरेपछि स्थगित गरिएका परीक्षालाई सञ्चालनको अनुमति मिलेको छ । सरकारको यसै निर्णयलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्ड, विभिन्न विश्वविद्यालय तथा अध्ययन संस्थानले रोकिएका परीक्षा सञ्चालन गर्ने तरखर गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज महिनाभित्र लिइने गरी तयारी थालेको जनाएको छ । बोर्डले कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा भने विद्यालयलाई नै दिएको छ । परीक्षाको सञ्चालन तथा मूल्यांकन प्रक्रिया हाल कायम रहेभन्दा फरक ढंगले गरिने भएकाले मूल्यांकनलाई वैध र विश्वसनीय बनाउन भन्दै उसले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ समेत जारी गरिसकेको छ ।

त्रिभुवन, नेपाल संस्कृतलगायतका विश्वविद्यालयले छिटोमा भदौ महिनाको दोस्रो महिनादेखि रोकिएका परीक्षा सञ्चालन गरिने जनाएका छन् । विश्वविद्यालयहरूले विद्यार्थी परीक्षा केन्द्रमा उपस्थित नभई परीक्षा दिन सक्ने व्यवस्था गर्ने भनिएको भएपनि हाललाई त्यो सम्भव नहुने ठहर गरिएको थियो । कोरोना भाइरसबाट जोगिन न्यूनतम मापदण्ड पालना गरी पारम्परिक रूपमा नै परीक्षा सञ्चालन गर्नेतर्फ विश्वविद्यालयहरूको एक मत देखिएको हो ।

यता विद्यार्थीहरूले भने हतारमा परीक्षाको मिति तोक्नु जायज नभएको भनी असन्तुष्टि पोखेका छन् । कतिपयले भाइरसको संक्रमण फैलिएका अवस्थामा परीक्षा सञ्चालन गर्दा अध्यापक र विद्यार्थीहरूको ज्यानमा खतरा पुग्न सक्नेतर्फ औंल्याएका छन् भने कतिपयले तत्कालै परीक्षा लिँदा ठूलो संख्यामा विद्यार्थीहरू छुट्न सक्ने भन्दै जल्दबाजीमा परीक्षाको मिति नतोक्न माग अघि सारेका छन् । कोरोना महामारी, बाढी तथा पहिरोका कारण विद्यार्थीहरू आफ्नै गाउँमा अड्किएका र उनीहरूको घर आफूले अध्ययन गर्दै आएको शैक्षिक संस्थादेखि धेरै दूरीमा रहेकाले परीक्षाको मिति तोकिहाल्नु अव्यवहारिक भएको विद्यार्थीहरूको बुझाइ छ । “भदौ १ गतेदेखि मात्रै लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भनिएको छ । पहिले जस्तो बसका सबै सीटमा बसेर यात्रा गर्न पनि मिल्दैन”, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा बी.ए. तृतीय वर्षमा अध्ययनरत असल गैरेले भने, “त्यो हिसाबले विद्यार्थीहरू परीक्षा केन्द्र भएको जिल्ला पुग्न हप्तौँ कुर्नुपर्ने हुन सक्छ । भदौ महिनाको दोश्रो हप्तादेखि नै परीक्षा सञ्चालन गर्नु त्यो कारणले पनि जायज देखिँदैन ।”

कतिपय विद्यार्थीहरूले पाठ्यक्रम पूरा पढाइ भइनसकेको र महामारीको कहरका बीच तयारी गर्न समय कम भएको भनी परीक्षाको मितिमा परिमार्जन गर्न माग गरेका छन् । कतिपय विश्वविद्यालयका विद्यार्थीहरूले कक्षाकोठामा उपस्थित भई गरिने सिकाइ जस्तो प्रभावकारी अनलाइन कक्षा नभएको गुनासो राखेका छन् । “सबै विषय अनलाइन माध्यमबाट पढाउँदा प्रभावकारी हुँदैन । कक्षाकोठामा उपस्थित भएर अध्यापकले प्रत्यक्षरूपमा पढाउँदा जस्तो उत्सुकता अन्लाइन कक्षामा हुँदैन”, बीएससी इन्भाइरोमेन्टकी विद्यार्थी सविता सुवेदीले भनिन् ।
काठमाडौँ विश्वविद्यालयअन्तर्गतको बी.ई.कार्यक्रम उत्तीर्ण गरेकी धरान उपमहानगरपालिकाकी सुस्मिता सापकोटाले भने परीक्षा सञ्चालन गर्ने सन्दर्भमा सरकार र शिक्षा मन्त्रालय चुकेको बताइन् । “सरकारले चैतको पहिलो हप्तासम्ममा सबै विद्यालयलाई परीक्षा सक्न निर्देशन दियो । बरु त्यति अवधिभित्र एसईई र कक्षा १२ को परीक्षा लिने व्यवस्था गराउन सकिन्थ्यो”, उनले बताइन् । विश्वविद्यालयको सन्दर्भमा भने अघिल्ला वर्ष तथा सेमेस्टरका विद्यार्थीलाई आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउन सकिने विचार सुस्मिताले राखिन् । कोरोना भाइरसको महामारी अझै अन्त्य नभइसकेकाले परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा सञ्चालन गर्नुभन्दा सकेसम्म अन्लाइन वा ओपन बुक टेष्ट विधिबाट परीक्षा लिइनुपर्नेमा उनले जोड दिइन् ।

गैंडाकोटस्थित नागरिक कलेज अफ फुड टेक्नोलोजीका उपप्राध्यापक ज्योति आचार्य भने पहिले रजिस्ट्रेसन फारम भरेका विद्यार्थीहरूको परीक्षा सुरुमा लिनुपर्ने बताउँछन् । “अवस्था सामान्य हुँदै गयो र विद्यार्थीहरू समयमा आफू अध्ययन गर्ने शैक्षिक संस्था फर्कने अवस्था मिल्यो भने परीक्षा लिनु राम्रै हुन्छ । तर, सुरुमा फारम भरेका कक्षाका विद्यार्थीको परीक्षा अगाडि हुनुपर्छ”, उपप्राध्यापक आचार्यले भने, “त्यसो गरे विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जाँदैन ।” आफूहरू परीक्षा सञ्चालन गर्न सक्षम भएको जनाउनका लागि विश्वविद्यालयले सूचना जारी गरेको भनेर बुझ्न उनले विद्यार्थीहरूलाई आग्रह गरे । “विश्वविद्यालयले यति गतेदेखि परीक्षा सुरु हुन्छ भनेर भनिसकेको छैन । परीक्षा लिन बाटो खुलेको भनेर अवगत मात्रै गराएको हो । त्यसकारण बाँकी समयलाई विद्यार्थीले तयारी गर्न मिलेको अवसर भन्ने सम्झनुपर्छ”, उनले थपे । एसईईमा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा पार गरिएला भन्ने भ्रम नपाल्न पनि उनले विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई आग्रह गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट