पुस्तक समीक्षा :कुमाता
सामान्यतः पूर्वीय समाजमा आमालाई भगवतीको रूप मानिन्छ । संस्कृतमा एउटा श्लोक पनि पाइन्छ –‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् छोरो कुपुत्र हुनसक्छ । तर, आमा कहिल्यै पनि कुमाता हुँदिनन् । यद्यपि पत्रकार वसन्त पराजुलीद्वारा लिखित ‘कुमाता’ नामक कथासङ्ग्रहमा आमा कसरी खराब हुन सक्छिन् भन्ने कुरा दर्शाउन खोजिएको छ । हाल पनि पत्रकारिता क्षेत्रमा आबद्ध रहेका पराजुलीले आफ्नो जीवनकालमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा देखे÷भोगेका कुरालाई यस कथासङ्ग्रहमा समेटेका छन् । आफू समाजमा रहँदा त्यसै समाजभित्र झाँगिएका कुरीति तथा कुअभ्यासलाई पराजुलीले यस कथासङ्ग्रहमा उजागर गर्ने प्रयास गरेका छन् ।
लेखक तथा पत्रकार पराजुलीको यो पहिलो कृति भएकाले पनि यसमा उनले सरल भाषा शैली प्रयोग गरेका छन् । सरल भाषाको प्रयोगका कारण नै यो कथासङ्ग्रह सन्देश प्रवाह गर्न सक्ने लेखन बनेको छ । कथाका विषयवस्तुहरूलाई नियालेर हेर्दा उनको यो कृति खास गरी किशोरावस्थामाथिका सबै पाठकका लागि लक्षित गरिएको देखिन्छ ।
पराजुलीले कुमाताको अर्थलाई आफ्नो पुस्तकको आवरणमा नै झल्काउने प्रयास गरेका छन्, जसमा एउटी महिला र सानो बालकको आकृति कोरिएको छ । यसले सन्तानको स्याहारसुसारमा चुक्ने आमा खराब रहेको भन्ने लेखकको आशयलाई प्रष्ट पार्ने कोसिस गरेको छ । पुस्तकको अध्ययन गर्दै जाँदा आमा वा कुनै पनि स्त्री दोषी हुनुमा प्रमुख दोषचाहिँ उनको नभई पुरुषप्रधान समाजको हो भन्ने कुरा प्रस्तुत गर्न खोजिएको छ ।
पुस्तकमा समेटिएका विभिन्न १० वटा कथाहरू पत्रकारिता, प्रेम, पारिवारिक कलह तथा बिछोड, अतृप्त यौन इच्छा, विश्वास, जेल, सङ्घर्ष, वैदेशिक रोजगारीलगायत विषयको वरिपरि घुमेका छन् । पुस्तकमा समेटिएको पहिलो कथा ‘पत्रकार’मा उनले नेपाली पत्रकारहरूले भोग्नुपरेका दुःख र पीडालाई सम्बोधन गरेका छन् । कुनै पनि सञ्चारमाध्यम वा सञ्चारगृहका लागि पत्रकारले आफ्नो सम्पूर्ण जीवन सुम्पिँदा आवश्यक परेका बेलासमेत सञ्चारमाध्यमका सञ्चालकले आफ्ना कर्मचारीलाई फर्केर नहेर्ने गरेको प्रवृत्तिलाई कथामा उतारिएको छ । पत्रकारले अरुले भोगेका समस्यालाई उठाए पनि आफ्ना समस्यालाई भने सधैँ लुकाएर राख्ने गरेको अवस्थालाई लेखकले चित्रण गरेका छन् । सामाजिक उत्तरदायित्व ग्रहण गर्ने पेशा मानिएको पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरू पूरै श्रम र सीपको प्रयोग गरी आफ्नो कर्तव्य निभाउँछन् । तर, सोही प्रकारको पारिश्रमिक पाउनबाट भने सधैँ वञ्चित रहने गरेका छन् ।

न्यूनतम पारिश्रमिकसमेत उपभोग गर्न नपाएका पत्रकारले केही हजारको तलबमा आफू र आफ्नो परिवारको खर्च धान्नुपरेको अवस्थालाई कथामा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । अझ समाचार लेखेकै भरमा आइलाग्ने धम्कीका कारण पत्रकारको दैनिक जीवन धरासायी बन्न पुगेको छ । कतिपय पत्रकारले विभिन्न ठेकेदार, नेता, कर्मचारीसँग मिलेर गर्ने दुई नम्बरी कामले पूरै पत्रकारिता जगत नै कलङ्कित हुन पुगेको कुरालाई पनि लेखकले व्यक्त गर्न खोजेका छन् ।
पुस्तकमा पत्रकार पराजुलीले शारीरिक आकर्षणका कारण हुने गरेको दुर्घटनालाई पनि कथाको मुख्य विषयवस्तु बनाएका छन् । खास गरेर पुरुषले महिलालाई आफ्नो यौन प्यास पूरा गर्ने साधन बनाउँदा महिलाहरूको जिन्दगी नै धरापमा पर्ने गरेको कुरालाई कथाकारले प्रकाश पारेका छन् । कुनै यौन पिपासु पुरुष महिलाको नजिक धाउन थाल्छ । पुरुषले महिलालाई प्रेम गरेको आभाष दिलाउन सफल हुन्छ । त्यसपछि अनेक जुक्ति लगाएर महिलासँग बिस्तारा तताउन सफल बन्दछ । महिलाको भावनासँग खेल्न ऊ यति सीपालु हुन्छ कि उसले पटक–पटक मायाको नाटक रचेर महिलाहरूको जीवन बर्बाद गरिदिन्छ ।
यता महिलाको पेटमा गर्भ रहन्छ । यो बेला ऊ आफ्नो प्रेमीसँग मद्दत माग्न भौतारिन्छे । तर, उसको प्रेमी भनिएको मान्छेले उसलाई चटक्कै भुलेर जान्छ, सँगै खाएका वाचा कसम तोडेर हराउँछ । पेटमा रहेकोे बच्चा बिस्तारै बढ्दै जाँदा परिवार र समाजले उठाउने प्रश्नका बीच एउटी अवोध महिलाको मष्तिष्कमा कस्तो कुरा खेल्छ ? यो बारेमा पनि लेखकले कुमाता कथासङ्ग्रहमा चर्चा गरेका छन् । यस्तो बेला त्यो महिला बच्चा जन्माउने कि गर्भपतन गराउने भन्ने दुविधामा पर्दछे । अन्त्यमा उसले आफ्नो शिशु जन्मनासाथ उसको घाँटी निमोठेर हत्या गर्छे । आफ्नो गल्तीको सजाय त्यो निर्दाेष शिशुलाई दिनु र शिशुको रक्षा गर्ने काममा आमा चुक्न पुग्नुका कारण लेखकले ती आमालाई ‘कुमाता’को संज्ञा दिएका हुन् भनी बुझ्न सकिन्छ ।
यस्तै, परिवारका सदस्यबीच विश्वास र समझदारीको खडेरी हुन नहुनेतर्फ लेखकले इङ्गित गरेका छन् । विवाह गरेर घर प्रवेश गरेकी नयाँ बुहारीले कालान्तरमा सासू ससुरालाई हेला गर्न थाल्दा बूढा भएका अभिभावक सन्न्यास लिन अग्रसर हुने गरेको कारुणिक अवस्थालाई पनि कथामा चित्रण गरिएको छ । आफैंले जन्म दिएको छोरा र छोराको प्यारी श्रीमतीले आमाबाबुलाई वृद्धाश्रममा लगेर छाडिनु हरेक नेपालीको घरको कथा बन्न थालेको छ । छोरा र बुहारी आफूहरू विदेशमा बसोबास गर्न सहज होस् भनी विभिन्न बहना बनाएर बूढा भएका आमाबाबुलाई चटक्कै माया मारेर हिँड्ने गरेको थुप्रै घटनाहरू आजभोलि सुनिने गरेका छन् । सासूससुराको सेवा गर्नुलाई बुहारीले आफ्नो स्वतन्त्रतामाथि भएको दमनको रूपमा बुझ्नु गलत भएको पनि यस कथासङ्ग्रहको आशय रहेको छ ।
यिनका अलावा पराजुलीद्वारा लिखित यस पुस्तकमा विदेशमा रोजगारीका लागि पुगेका युवाका घरपरिवारले भोग्नुपरेका दुःखदायी क्षणलाई पनि प्रस्तुत गरेको छ । श्रीमान् विदेशमा रहँदा यता घरमा रहेकी श्रीमतीमा जाग्ने यौनको इच्छालाई पनि कथाले मुख्य विषयवस्तु बनाएको छ ।
विदेशमा रहेको लोग्नेले कडा परिश्रम गरी पैसा पठाउने र यता स्वास्नी भने त्यही पैसा उडाउँदै परपुरुषसँग रमाउने गरेको घटना अचेल हरेक गाउँशहरमा सुनिने गरेको छ । यस्तै घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रम्ने पुरुषको पनि समाजमा कमी नभएको भने होइन । विवाह अघि विपरीत लिङ्गीबीच हुने शारीरिक सम्बन्ध होओस् या परपुरुष वा परस्त्रीसँगको निकटता, यस्ता गलत अभ्यासले परम्परादेखि चल्दै आएको सामाजिक मूल्य र मान्यतालाई नै भताभुङ्ग पारेको छ । पारम्परिक मात्र नभई शारीरिक स्वास्थ्यको दृष्टिकोणले पनि यौनका लागि एउटै व्यक्ति रोज्नु उपयुक्त हुने कुरामा पनि कथासङ्ग्रहले जोड दिएको छ ।





