भरतपुर, २९ असार
अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको भन्दै अस्पतालका सञ्चालक, सल्लाहकार र डाक्टरलाई नै प्रहरीले पक्राउ गरेपछि पुरानो मेडिकल कलेज भरतपुरले यसको खण्डन गरेको छ । विज्ञप्ति जारीगर्दै अस्पतालले कानुनी रुपमा नै मिर्गौला प्रत्यारोपण गरेको दावी गरेको छ । नाता प्रमाणित सम्बन्धी स्थानीय तहको सिफारिससहितका कागजातका आधारमा मानव अंगप्रत्यारोपण गरेको मेडिकल कलेजले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ
अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधि कलेजकातर्फबाट नभएको हाम्रो ठहर छ । राज्यका विभिन्न नियकायबाट बनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपण सम्बन्धी काम गर्दै आएको छ”, पुरानो मेडिकल कलेजका अतिरिक्त निर्देशक डा.मनोहर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानव अंगप्रत्यारोपणमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र विशेषज्ञ चिकित्सकलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण मिलाउनसमेत सरकारसमक्ष मेडिकल कलेजले आग्रह गरेको छ । उक्त मेडिकल कलेजले नेपाल सरकारबाट २०६९ सालमा पहिलोपटक राजधानी बाहिर मिर्गौला प्रत्यारोपण सम्बन्धी स्वीकृति पाएको थियो। त्यसयता चार जनाको मिर्गौला प्रत्यारोपण गरेको कलेजले जानकारी दिएको छ । नेपाल सरकारबाट अनुमति प्राप्तगरी मानव शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मावन शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ को अधिनमा रहि मानव अंगप्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसार मानव अंगप्रत्यारोपण गरेको डा. प्रधानले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
मावन अंग प्रत्यारोपणका लागि जिल्ला प्रशासन कार्यालय, कानुनी सल्लाहाकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत, अस्पतालका चिकित्सक प्रतिनिधिसहितको प्रत्यारोपण स्वीकृत समिति गठन गरी, अंगग्रहण कर्ता, अंगदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा जिल्ला प्रशासन कार्यालबाट नागरिकता प्रमाणित गरी सफलतापूर्वक प्रत्यारोपण गरेको अस्पतालको दाबी छ ।
मिर्गोला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभ हानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरी प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधारमा प्रत्यारोपण गरेको विज्ञप्तीमा उल्लेख छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेकोभन्दै कलेजका चिकित्सकसहित ६ जनालाई पक्राउ गरी काठमाडौं लगेको छ ।





