भरतपुर, २९ असार
लगातारको वर्षासँगै चितवनका सबै नदी तथा खोलाहरुमा पानीको सतह ह्वात्तै बढेको छ । देवघाट क्षेत्र र नारायणगढस्थित नारायणी पुलमा गरिएको मापनका क्रममा नारायणी नदीको सतह बढेर खतराको तहमा पुग्न थालेको छ ।

नदीको तह र वहावको जानकारी अपडेट गर्दै ‘हाइड्रोलोजी डट जीओभी डट एनपी’ले सतर्कताको तह पार गर्दै खतराको तहमा पुग्न लागेको उल्लेख गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी नदीको सतह बढ्दो क्रममा रहेका कारण सतर्कता अपनाउन आसपासका बासिन्दालाई आग्रह गरेका छन् ।
नारायणी नदीको तह बढ्दै गएमा यसको असर भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २७ र २८ मा पर्छ । छिमेकी जिल्ला नवलपरासी पूर्व, पश्चिममा पनि यसको असर पर्छ । प्रशासनले नदी आसपासका क्षेत्रमा नजान आग्रह गरेको छ ।






