बजारमा आँप बढ्यो, मूल्य घट्यो

शिव गौतम
भरतपुर/अघिल्लो वर्षको तुलनामा यस वर्ष चितवन जिल्लामा आँपको उपभोग बढेको पाइएको छ । पहिलेभन्दा आँपको उत्पादन बढेपछि आपूर्ति पनि बढेको हो । कोरोना भाइरसका कारण सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार महिना लागेपछि विस्तारै खुकुलो हुँदै जाँदा आँपको आपूर्ति अझै सहज बनेको फलफुल व्यवसायीहरूको भनाइ छ ।

यद्यपि लकडाउनको समयमा तरकारी तथा फलफुलजस्ता अत्यावश्यक वस्तुको ढुवानीमा रोकतोक भने लगाइएको थिएन । चितवन जिल्लामा लहान र मिर्चैयामा उत्पादन गरिएका आँपको माग अत्यधिक हुने गरेकोमा यस वर्ष भने जिल्लाभित्रका फर्ममा पनि आँपको उत्पादन बढेको हो । “महानगर फलफुल तथा तरकारी बजारमा असार महिना सुरु भएदेखि लहान र मिर्चैयाबाट मात्रै करिब २० टन माल्दा आँप भित्रिएका छन्”, फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटाले भने ।

वर्ष बिराएर आँपको उत्पादन बढ्ने र घट्ने गरेकामा यस वर्ष आँपको उत्पादन बढेको हो । सापकोटाका अनुसार स्थानीय किसाहरूले पनि जिल्लाभित्र उत्पादित आँप बिक्रीका लागि दैनिकजसो फलफुल बजारसम्म पु¥याउने गरेका छन् । “अटो तथा स–साना गाडीमा राखेर स्थानीय किसानहरूले बिक्रीका लागि आँप ल्याउने गर्नुभएको छ । बजारबाट जिल्लाभित्र उत्पादित आँप यति नै मात्रामा बिक्री भए भन्ने लेखाजोखा भने राखेका छैनौं”, उनले बताए ।

उत्पादन बढे पनि महामारीका कारण यसपालि आँपले उचित बजारी मूल्य भने पाउन सकेका छैनन् । “हामीले अघिल्लो हप्ता आँप बेच्दा थोक मूल्य ३५ देखि ५० रुपैयाँ प्रति केजी मात्रै थियो । मौसमको अन्त्यतिर पुग्दा मूल्य केही बढेर करिब ६० रुपैयाँ प्रति केजी पुगेको छ”, सापकोटाले सुनाए । अघिल्ला वर्षमा भने आँपको थोक मूल्य प्रति केजी ८० रुपैयाँको आसपास रहने गरेको थियो । यस्तै, गत वर्ष आँपको प्रति केजी खुद्रा मूल्य १०० रुपैयाँ नाघ्ने गरेकामा हाल सो मूल्य घटेर ७० रुपैयाँसम्म पुगेको व्यापारीहरू बताउँछन् ।

महामारीका कारण करिब डेढ महिनासम्म बन्द रहन पुगेको महानगर तरकारी बजारले यतिबेला कोरोना भाइरसबाट जोगिन न्यूनतम मापदण्ड अपनाउँदै पुनः सञ्चालनलाई अघि बढाएको छ । बजारमा प्रवेश गर्नुपूर्व हरेकलाई स्यानिटाइजर लगाइदिने गरेको र मास्कको प्रयोगलाई अनिवार्य बनाइएको संघका अध्यक्ष सापकोटाले कायाकैरनलाई जानकारी दिए ।

तरकारी तथा फलफूल व्यापारीहरूले त्यहाँ रहेका सटर भाडामा लिएर व्यवसाय सञ्चालन गराउँदै आएकामा लकडाउनका कारण उनीहरूको पसल पनि बन्द भएका थिए । ती फलफूल तथा तरकारी व्यवसायीलाई पर्न गएको मारलाई ध्यान दिँदै आफूहरूले सडर भाडामा निश्चित प्रतिशत छुटको व्यवस्था गरेको फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष सापकोटाले बताए । “सटर कोठाको प्रकृतिलाई हेरेर व्यवसायीलाई विभिन्न समूहमा विभाजन गरेका छौं । त्यसै अनुसार सटर कोठाको भाडामा छुट प्रदान गर्ने निर्णय गरेका छौं”, उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट