भरतपुर, २२ जेठ
गरिमा धानबाट धोका खाएको केही समयमै चितवनका किसानहरुको धानमा घाँटी मरुवा(नेक व्लाष्ट) रोगको समस्या देखिएको छ । धानको बालाको तल घाँटीमा ढुसी लाग्ने समस्या देखिन थालेपछि किसानहरु चिन्तित छन् ।

पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाका विभिन्न स्थानमा रोपिएको हर्दिनाथ–१ जातको चैते धानमा घाँटी मरुवा रोगको समस्या देखिएको छ । हर्दिनाथ–१ धानमा बालको तल ढुसी लागेर बाला पहेंलै देखिएको छ । झट्ट हेर्दा पाकेको धान जस्तो देखिएपनि बालामा भुस मात्र छ ।

खैरहनी–१० खरखुट्टेका कृष्णप्रसाद अर्यालले यसपाली ३८ कट्ठा जमिनमा हर्दिनाथ–१ जातको धान रोपेका थिए । यो सबै धान रोगले सखाप पारेपनि उनी इन्तु न चिन्तु भएका छन् । “केही महिना अघि गरिमा धानको बीउले धोका दियो । चैते धानबाट त राम्रै होला भन्ने आशा थियो । यसले पनि यसपाली धोका दियो”, अर्यालले भने, “किसानलाई समस्या माथि समस्या थपियो ।” उनले ४२ कट्ठा जमिनमा गरिमा धान रोपेका थिए । चैते धान पनि रोगले सखाव पारेपछि धानमा आगो लगाउने तयारीमा रहेको उनले बताए ।

खैरहनीकै दुर्गादेवी आचार्यले १६ कट्ठा जमिनमा चैते धान रोपेकी थिइन् । रोगले अन्न नलागेपछि उनको चिन्ता बढेको छ । “धान त रोगले बिग्रियो, अब यसलाई कसरी हटाउने भन्ने चिन्ता छ”, उनले भनिन्, “सँधै राम्रो भइरहेको धानले एक्कासी धोका दियो ।” धान उत्पादनमा जिल्ला हुँदै देशमै प्रथम पुरस्कार जितेकी आचार्यले यस्तो अवस्था आउला भन्ने कल्पना सम्म गरेकी थिइनन् ।

उत्पादन बढी हुने, असिना पानी र हावाहुरीले असर नगर्नेलगायतका कारण प्रायः किसानहरुले हर्दिनाथ–१ जातको धान रोप्ने गरेका छन् । अघिल्ला वर्ष प्रति हेक्टर औषत ६ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा यसपाली रोगले गर्दा किसानको भकारी रित्तै हुने अवस्था छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेल लामो समय देखि किसानले प्रयोग गर्दै आएको हर्दिंनाथ–१ जातको धानमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आएका कारण रोगले आक्रमण गर्न थालेको बताउँछन् । “पोहोर सम्म यस्तो समस्या थिएन । यसपाली त पूर्वी चितवनका प्रायः किसानको धानमा यो समस्या देखियो”, उनले भने, “अब धानको जातमै परिवर्तन गर्नुको विकल्प छैन ।” उनले औषधीको प्रयोगले सामान्य सुधार देखिएपनि यो गतिलो उपाय नहुने बताए । थोरै पछि रोपिएको चैते धानमा तत्काल समस्या नदेखिएको भन्दै उनले केही दिनमा यस रोगको विषयमा थप विश्लेषण गर्न सकिने बताए ।

पौडेलका अनुसार चितवनमा करिब ५ हजार हेक्टर जमिनमा चैते धान रोपिन्छ । प्रति हेक्टर ६ मेट्रिक टन उत्पादन हुनुपर्नेमा यसवर्ष रोगका कारण ५० प्रतिशत भन्दा बढीले कमी आउने संभावना देखिएको उनले बताए ।
पटक–पटक धोका खाएका धान उत्पादक किसानहरुले धानको जातीय परीक्षण पश्चात मात्रै बीउ उपलब्ध गराउन माग गरेका छन् । “जातीय परीक्षणगरी माटोको अवस्था अनुसारको धानको बीउ उपलब्ध नगराएसम्म यो अवस्था रोकिन्न”, धान किसान अर्यालले भने, “अहिलेको अवस्थामा त किसानलाई जोखिम बढी भयो ।” उनले किसानको लगानी सुरक्षाको व्यवस्था सरकारले गर्नुपर्ने माग गरे ।





