ग्राउण्ड जीरो रिपोर्ट-विद्युत प्राधिकरण भरतपुर
भरतपुर, ५ जेठ
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा ग्राहकको भिड भएको फोटो भाइरल बन्यो । वास्तविकता बुझ्न कायाकैरनकर्मी लेखराम सापकोटा प्राधिकरण पुग्दा ग्राहकको संख्या त धेरै थियो तर सामाजिक दूरी कायम गर्ने कोशिस भने भएको थियो ।

झट्ट हेर्दा व्यवस्थित लागेपनि प्राधिकरणले ग्राहकलाई झुक्याइरहेको एउटा विषय भने कसैलाई पत्तै भएन । कार्यालयको मुल गेट बाहिरै साइकल, मोटरसाइकल रोकेर भित्र जानेहरूलाई गेटमा उभिएका सुरक्षागार्डले चर्को घाममा एउटा हातले छाता ओडेर अर्को हातले थर्मल गनबाट सेवाग्राहीको तापक्रम लिइरहेका छन् । यद्यपी, सेवाग्राहीहरू तापक्रमको नतिजा के छ ? बुझ्न चाहँदैनन् र सरासर भित्र जान्छन् । उनीहरुलाई काम सकेर फर्कनै हतारो छ ।

रोचक कुरो त के छ भने सुरक्षागार्डले पनि थर्मल गनको डिस्प्लेमा के देखिन्छ, ख्याल गर्दैनन् । उनको काम निधारमा गन तेर्साउने मात्रै देखियो । कायाकैरनकर्मी सापकोटालाई शंका लागेर थर्मल गर्न हेर्दा गन `अन´ थिएन । अर्थात् गन बिग्रेको थियो । गनले काम गरेकै थिएन ।
‘के हेर्नुभएको हो त यसबाट ?‘ भन्ने कायाकैरनको जिज्ञासामा सुरक्षागार्डले भने – ‘तापक्रम’ ।
‘मेरो कति देखायो त ?’ भन्ने जिज्ञासापछि सुरक्षागार्डले गन ओल्टाइपल्टाइ गरे, तर डिस्प्लेमा केही आउन्नथ्यो ।
‘यस्तो बिग्रेको गन तेर्साएर के गर्नुभएको हो त ?’ भनेपछि अहिले उनले सेवाग्राहीको निधारमा थर्मल गर्न तेर्साउन छाडेका छन् ।
भरतपुरस्थित विद्युत् कार्यालयमा महसुल बुझाउन आउनेहरूको लामो लाइन छ । भित्र लाइन बसेर ५ वटा काउन्टरबाट महसुल बुझाउने व्यवस्था मिलाइएको छ । यहाँ पुगेर हिजो मात्रै करिब ९ सय जनाले महशुल बुझाएका थिए ।

लाइनमा बसेकाहरू अरुबेलाभन्दा केही सतर्क भएको देख्न सकिन्छ । ठ्याक्कै सामाजिक दूरी नदेखिए पनि एकअर्कामा नछोइकन लाइनमा बसेका छन् । सेवाग्राहीले आफ्ना सवारीसाधन भित्र लैजान पाएका छैनन् ।






