लकडाउनसँगै आएको असिनापानी किसानका लागि अभिशाप

ध्रुवराज खनाल
भरतपुर, ९ वैशाख
लकडाउनको समस्या झेल्दै आएका चितवनका किसानहरु लगातार तीन दिनदेखि हावाहुरी र असिनापानीका कारण मर्कामा परेका छन् । किसानले उत्पादन गरेको अन्नवाली, तरकारीवाली, केराखेतीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएपछि किसान मर्कामा परेका हुन् ।

तीन दिन यता जिल्लामा फरक-फरक स्थानमा भीषण हावाहुरी र असिनापानी परिरहेको छ । त्यसको प्रत्यक्ष असर भने किसानलाई परेको छ । खैरहनी-१० खरखुट्टेका यज्ञबहादुर आचार्य अहिले सम्मकै ठूलो असिनापानी परेको हताउँछन् । असिनापानीले आफूले लगाएको ३० कठ्ठाको तरकारी पूर्ण रुपमा नष्ट भएको आचार्यले बताए । “लकडाउनले समस्यामा त थियौ, असिनापानीले समेत असर गर्यो”, किसान आचार्यले भने, “एकैछिनको असिनापानीले सबै तरकारी सखाप बनायो ।” अहिले सम्म यस्तो असिनापानी नव्यहोरेको उनले सुनाए । उनले तरकारी खेतीका लागि झण्डै ३ लाख रुपैया लगानी गरेका छन् । खेतीको उनले बीमा गरेका थिएनन् ।

खैरहनी १० खरखुट्टेमा अहिले करेला, चिचिण्डा, लौका, गोलभेडा , खरवुजा, भिण्डीको खेती गरिएको छ । खैरहनी वडा नम्वर १० मा मात्रै करिब नौ विगाहामा खरवुजो खेती गरिएको छ । चुरियामाई कृषि तथा पशु फर्म मार्फत पहिलो पटक २७ कठ्ठामा खरवुजो खेती गरेका माधवप्रसाद अर्याल खेती पूर्ण रुपमा नष्ट भएको बताउँछन् । अर्यालसँगै उत्तम कर्मचार्य र राजन गिरीले २७ कठ्ठामा खरवुजो खेती गरेका हुन् । “मुखमा आएको वाली क्षणभरमै नष्ट भयो”, किसान अर्यालले भने, “पहिलो वर्षमै प्रकृतिले पनि ठग्यो ।” क्षति नभएको भए २० लाख रुपैयाँको आम्दानी हुने अर्का किसान उत्तम कर्मचार्यले बताए ।

 

खरखुट्टेकै किसान सिताराम अर्यालको गोलभेडा र फर्सी खेतीमा पनि असिनापानीले क्षति पुर्याएको छ । ९ कठ्ठाको गोलभेडा र ६ कठ्ठामा लगाइएको फर्सीमा क्षति पुगेको किसान अर्यालले बताए । खरखुट्टे मात्रै अन्दाजी ३० विगाहा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । तरकारी मात्रै होईन असिना पानीले मकै खेतीमा पनि ठूलो क्षति पुर्याएको छ । खरखुट्टेकै किसान युवराज उप्रेतीले आफ्नो मकैवालीमा असिनापानीले उत्पादनै नहुने गरी क्षति पुर्याएको बताए । उप्रेतीले ३ विगाहामा मकै लगाएका छन् । यस क्षेत्रमा मकै मात्रै करिव २० विगाहामा लगाईएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्लामा असिनापानी र हावाहुरीले पारेको क्षतिको बारे तथ्यांक संकलनको काम भईरहेकाले अहिलेनै यति क्षति भयो भन्न नसकिने बताए । “लगातार तीन दिनदेखि असिना पानी परिरहेको छ”, ढकालले भने, “एक दिन एकतातिर अर्को दिन अर्को तिर असिनापानी परिरहेकाले स्थानीय पालिकालाई अनुरोध गरेर तथ्यांक लिईरहेका छौ ।” उनका अनुसार पूर्वी चितवनमा बढी क्षति भएको छ । तरकारी र केराखेतीमा अत्याधिक क्षति भएको उनले बताए । बीमा गरेकालाई सहजीकरण गरेर राहत दिलाउने र नगरेकाहरुको तथ्यांक संकलन गरेर जिल्ला दैवी प्रकोप तथा विपद व्यवस्थापन समितिमा पेश गरिने ज्ञान केन्द्र प्रमुख ढकालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट