मनोज घिमिरे
भरतपुर, २४ चैत
सन् २०२० को आगमनसंगै सिङ्गो विश्वले हर्षोल्लासका साथ नयाँ वर्षलाई स्वागत गर्दै थियो । हरेक देशले इश्वी नयाँ वर्षमा नयाँ जोशका साथ केही नवीन उपलब्धि हासिल गर्ने विश्वास राखेका थिए । तर सन् २०२० मानिसहरूको सोचभन्दा बिल्कुलै फरक रूपमा परिणत भइदियो ।
सन् २०२० हाम्रा सन्ततिले भविष्यमा इतिहास बुझ्न गुगलमा खोज्ने विषयवस्तु बन्नेमा कुनै दुई मत नहोला । कोरोना भाईरस सन् २०१९ को अन्तिममा भेटिएको कारण कोभिड १९ नामाकरण गरिएपनि भाईरसको महामारीले वर्ष २०२० लाई हालको पुस्ताले सम्झिरहने वर्ष बनाउने निश्चित छ । विश्वभरका मानिसहरू चिन्तित छन्। राष्ट्र सञ्चालनको जिम्मेवारी पाएका राष्ट्र प्रमुखहरू के गर्ने, के नगर्ने भन्नेमा दोधार देखिन्छन् ।

लकडाउनको सन्नटाले सिङ्गो विश्वको अर्थतन्त्र रोकिएको छ । उद्योग कलकारखाना, यातायात, विकास निर्माणका काम सबै ठप्प भएका छन् । एकातिर द्रुतगतिमा दूषित हुँदै गएको वातावरणले थोरै भएपनि स्वच्छ हुने अवसर पाएको छ। मानिसका क्रियाकलापका कारण प्रकृतिले मानव सभ्यतालाई एक पटक झकझकाएर बिउँझाउन गरिरहेको प्रयास त होइन यो भाईरस ? यो पनि सोच्ने बेला भएको छ।
प्राकृतिक श्रोतको चरम उपभोग तथा प्राविधक विकास गरेर अत्याधुनिक संसारमा रमाउन अभ्यस्त बनेका मानवहरूले प्रकृतिलाई मासेर लामो समयसम्म अगाडी बढन नसक्ने पनि पुष्टि भएको छ । जलवायु परिवर्तनका कारण हिमालयमा हिउँ पग्लिन थालेका छन् । हरिया वन जंगल र डाँडा पाखाहरू उदाङ्गो र खण्डहर बनेका छन् । खोलानाला सुकेका छन् । हिउँद महिनामा समेत पृथ्वीको औसत तापक्रम बढदो छ। गर्मीमा पनि तापक्रम स्वाभाविक भन्दा उच्च हुँदै छ । बाढीपहिरोले ज्यान गुमाउनेको संख्या हरेक बर्ष थपिदै छ । समुन्द्र पलपलमा दूषित हुँदैछ।
युनिभर्सिटी अफ सिडनीका प्रोफेसर डिकमनका अनुसार २०१९ जुनमा सुरु भएको अष्ट्रेलियन बुस फाएर डडेलोका कारण करिब १ अर्ब विभिन्न जनवारहरू जलेर मरेका छन् । त्यस्तै ३४ जना मानिसले पनि ज्यान गुमाए । हरेक बर्ष ग्लोबल वार्मिङका कारण फरक-फरक प्रकृतिका रोग देखा पर्न थालेका छन् । विशेषज्ञहरूका अनुसार ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका कारण जिका, कोलेरा, जोम्बी भाइरस, जस्ता रोग देखा परेका छन् । यस्तै मानवीय गतिविधिका कारण मर्स, सार्स, हन्ता भाइरस, कोभिड- १९ जस्ता महामारीहरू फैलिएका छन् । हाल सिङ्गो ब्रम्हाण्डलाई कोरोना भाईरसले खाला जसरी आँकमाल गरिरहेकाे छ ।
हिजो सम्म अत्याधुनिक हतियार निर्माण तथा परमाणु भण्डारण गरेर आफूलाई विश्वको सर्वशक्तिमान् ठानेका राष्ट्रका प्रमुखहरु नै कोरोना भाईरसका अगाडी निरिह साबित बनेका छन् । हिजाेका दिनमा गरिएका विकास निर्माणका काममा भएका प्रकृतिको दोहोन, सर्ब शक्तिशाली बन्ने होडबाजीमा हिजाे युद्धमा प्रहार गरिएका बम बारूद तथा क्षेप्यास्त्र, आहारविहारको रूपमा अमानवीय तरिका बाट हुने जीव हत्या, सुख सुबिधाका लागि बनाईने यांत्रिक विकाश तथा फरक-फरक इंजिनबाट हुने ध्वनी तथा वायु प्रदूषणका साथै वन जंगल फडानीका कारण हिजो हामीलाइ हाम्रा पूर्खाले सही सलामत छाडेर गएकाे सुन्दर ब्रह्माण्डलाई २१औं शताब्दीसम्म आइपुग्दा अत्याधुनिक युगकाे नाममा हामीले एउटा विशााल परमाणु हतियारकाे रूपमा परिणत गरिसकेका छाैं ।

सर आइज्याक न्यूटनले गतिको तेश्रो नियममा हरेक कार्यका लागि त्यहाँ अर्काे बराबर र विपरीत प्रतिक्रिया हुने बताएका छन् । न्युटनले सत्रौं शताब्दीमा पत्ता लागाएको नियम नै आज मानव सभ्यतामाथि लागू भइरहेको छ । विज्ञानले मानिसलाई आधुनिक र सौखिन बनायो । हामीले विज्ञान र प्रविधिको गलत प्रयोग ग¥यौं । पृथ्वीलाई फाइदा हुने काम बिरलै ग¥यौं । प्रविधिलाई हामीले मानव जातिकै विरुद्ध प्रयोग ग¥यौं, हातहतियार बनायौं र आफ्नै मान्छे विरुद्ध प्रयोग गर्न पनि पछि परेनौं ।जस्ले गर्दा हामीले गरेकाे क्रियाको प्रतिक्रिया बनेर भित्रीन आईपुगे अनेक रोग अनि महामारिका भाईरसहरू ।
हरेक सहज र असहज परिस्थितिमा सम्भावना र चुनौती दुबै सँगै आउने गर्दछन् । हालको अवस्थाबाट हामीले चुनौतीको सामना गर्न सम्पूर्ण मानव समुदाय एक हुन जरुरी छ । एकअर्का प्रति मानवीयता प्रकट गर्दै सक्षम देशले कमजोर देशको घाउमा मल्हम लगाउन ढिलो गर्न हुँदैन । कोरोनाको महामारीबाट मुक्ति मिलेपछि हामी सुध्रन आवश्यक छ । विज्ञानको प्रयोग प्रकृतिलाई स्वस्छ र सफा राख्न गर्नुपर्ने देखिन्छ । हरेक देशले हातहतियार तथा परमाणु भट्टिमा खर्च गर्ने गरेको रकमलाई वातावरणको संरक्षणमा खर्च गर्नुपर्ने देखिन्छ । भविष्मा विज्ञानको गलत प्रयोग गरेर मानव जातिलाई अर्काे संकटमा पार्ने छैनौं भनी सबै विकसित देशले प्रण गर्नुपर्छ । विज्ञानलाई श्राप होइन, वरदान साबित गरौं। जय पृथ्वी । जय ब्रम्हाण्ड ।





