के नेपाल इटाली र अमेरिकाजस्तै हुन लागेकाे हाे ?

 

विनाेदबाबु रिजाल

सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कूल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

यसअघि चीनबाट आएका एकजना नेपालीमा पहिलो संक्रमण देखिएको थियो । त्यसबेला चीनबाट अरु देशमा खासै संक्रमण सरेकै थिएन । त्यसकारण त्यसको खासै चर्चा नै थिएन । उनी निको पनि भएर गए ।

त्यसपछिको चैतमा आएर आठवटा कोभिड १९ का संक्रमण देखिए । फ्रान्सबाट फर्किएकी एक किशोरीमा दोस्रो केस देखियो । त्यस्तै खाडी मुलुकबाट फर्किएका दुई युवामा पनि कोभिड १९ संक्रमण फेला प¥यो । त्यस्तै, दोस्रो केस देखिएको युवतीसँग एउटै विमानमा फर्किएकी बाग्लुङकी एक किशोरीमा पनि कोभिड–१९ को संक्रमण देखियो । उनी बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आइपुगेकी थिइन् । छैटौं केस पनि त्यही विमानको थियो । शनिबार एकैचोटि तीनवटा संक्रमण सार्वजनिक भएपछि भने एक्कासि जनतामा त्रास थपिएको छ ।
धेरैको मनमा जिज्ञासा छ, सरकारले आजबाट घोषणा गरेको दोस्रो स्टेज अर्थात दोस्रो चरण के हो ? योपछि कुन र कस्ता चरण आउँछन् ? हामीले पु¥याउनुपर्ने सावधानी के–के हुन् ? यहाँ मैले केही मान्यता, नेपालमा देखिएको अवस्था, हामीले गर्नुपर्ने र गर्न नसकेको कुराबारे धारणा राखेको छु । यी धारणा मेरा व्यक्तिगत धारणा मात्रै भन्दा पनि कतिपय विशेषज्ञसँगको छलफल, अन्तरवार्ता, विश्व स्वास्थ्य संगठनको मान्यता आदि कुरामा पनि आधारित छ ।

के हो दोस्रो चरण ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणको दोस्रो चरण भनेको ‘लोकल ट्रान्समिसन’ हो । अर्थात स्थानीयस्तरमा प्रसार हुनु । यो भनेको ट्राभल हिस्ट्री नभएका (यात्रा नै नगरेका)व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिनु भनेकै लोकल ट्रान्समिसन हो । यो आज देखिएको छ । भारत गएर आएका पुरुषले आफ्नो घरमै बसिरहेकी महिलालाई संक्रमण प्रसार गरेको आज प्रमाणित भएको हो । घरमै बसिरहँदा पनि बाहिरबाट आएका व्यक्तिभित्र रहेको संक्रमण विभिन्न माध्यमबाट सरेको हो । यसको अर्थ अब विदेशबाट आएका सयौं–हजारौं व्यक्तिहरुमध्ये जो–जोसँग संक्रमण थियो÷छ, उसले आफ्नो परिवारमा सारिसकेको हुनसक्छ ।

यसअघि देखिएका ६ वटा केसले हामी पहिलो चरणमै रहेको देखाएको थियो । अर्थात सबै ६ जना नै कुनै न कुनै देशबाट यात्रा गरेर आएकाहरु थिए । त्यसकारण पनि कम्तीमा यहाँ भएका जनतामा संक्रमण सरिसकेको छैन भन्नेमा हामी ढुक्क थियौं । त्यसमा ढुक्क कसरी हुन सकिन्थ्यो भन्दा यात्रा गरेर आएको संक्रमण भनेको आयातित संक्रमण थियो । यसले हाम्रो समुदायमा संक्रमण फैलिइसकेको छैन भन्ने देखाउँथ्यो । हामीले त्यहीबेला विदेशबाट आएका सबैलाई शतप्रतिशत क्वारेन्टिनमा राख्न सकेको भए उनीहरुको सम्पर्क परिवार वा अरु कोही व्यक्तिसँग हुन पाउने थिएन । तर, हामी चुक्यौं । खुलारुपमा उनीहरु परिवारमा पुगे । समाजमा पुगे । र, अहिले हामी दोस्रो चरणमा छौं ।

तेस्रो र चौंथो चरण कस्तो हुन्छ ?
तेस्रो चरण भनेको समुदायस्तरमा संक्रमण देखिनु हो । अर्थात विदेशबाट आएका व्यक्तिबाट परिवारमा मात्रै होइन, ती परिवारबाट अरुमा पनि देखिनु हो । विश्व स्वास्थ्य संगठनले तेस्रो चरणलाई क्लस्टर केस (समूहगत घटना) र चौंथोलाई कम्युनिटी ट्रान्समिसन भनेको छ । तेस्रो चरणमा केसहरु समूहगत रुपमा देखिँदै जान्छ् । कुनै विशेष भूगोलमा एकसाथ एकै प्रकारले देखिँदै जान्छ । जस्तैः अहिले संक्रमण देखिएका व्यक्तिको छिमेकमा, टोलमा वा बस्तीमा देखिनु ।

चौंथो वा कम्युनिटी ट्रान्समिसनको चरण निकै डरलाग्दो हुन्छ । यो अवस्था निकै भयावह हुन्छ । सुरुमा चीन र अहिले इटाली, स्पेन वा अमेरिकाले भोगिरहेको अवस्था यही हो । यस्तो अवस्था महामारीको रुप हो । यस्तो क्षेत्रमा अधिक मात्रामा संक्रमितको संख्या स्थानीयरुपमा फैलिँदै जान्छ । संक्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैनन् । त्यस्तै, ल्याव परीक्षणबाटै मात्र संक्रमित पुष्टि हुन सक्छ, लागेको शंका पनि हुँदैन । असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन् ।

हामी तेस्रो र चौंथो चरण नजिकै पुगेका हौं ?
सम्भावना देखिन्छ । हामी न नजिक न टाढाको अवस्थामा छौं । एउटा उदाहरण हेरौं । चैत ४ गते कतार एयरवेजबाट आएका ३ जना व्यक्तिमा कोरोना रहेको पुष्टि भइसकेको छ । उनीहरु विदेशका विभिन्न भूभागबाट विभिन्न माध्यम हुँदै घरसम्म पुग्दा कति व्यक्तिको सम्पर्कमा गए होलान् । सम्पर्क भनेको उनीहरुको थुक वा ¥याल मुखैमा पर्ने गरी अगाडि नै पुग्नुपर्छ भन्ने पनि होइन । हातले छोइएका कयौं ठाउँमा ती कणहरु हुनसक्छन् । जसले संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क नगरिकनै सजिलै संक्रमण अर्को व्यक्तिमा सरिसकेको हुनसक्छ । एउटै विमानमा आएका कयौं व्यक्ति त सरकारको सम्पर्कमा आएका छैनन् । उनीहरु क्वारेन्टिमा बसेका छन् कि छैनन् भन्ने निश्चित छैन । उनीहरु घर पुगे । गाउँ घुमे । साथी भेटे । कयौं समारोहमा सहभागी भएका हुनसक्छन् । किनकि उनीहरुलाई आफूमा संक्रमण भएको थाहा हुँदैन कम्तीमा लक्षण नदेख्दासम्म । यसरी थाहा नपाइकनै धेरैमा संक्रमण प्रसार भइसकेको हुनसक्छ । त्यसको प्रभाव देखिनै बाँकी छ ।

भारतबाट योबीचमा लाखौं मान्छे घर फर्किए । काठमाडौंबाट लाखौं मान्छे बसपार्कमा एकैपटक जम्मा हुने गरी भीडभाड गरी घर फर्किए । बसमा कोचाकोच गरी यात्रा गरे । उनीहरुमध्ये कसैमा संक्रमण भए त्यो पनि प्रसार भइसकेको छ । यसको प्रभाव पनि देखिन बाँकी छ । यस हिसाबले हामीमा अबको साता–दश दिनभित्र अवस्था भयावह हुन पनि सक्छ । तेस्रो र तुरुन्तै चौंथो चरणमा प्रवेश गरिहाल्न पनि सक्छ नेपाल ।

सरकारले गरेको गल्ती
चीनको वुहानमा कोरोनाको भयावह अवस्था सिर्जना भएपछि त्यहाँ रहेका १७५ नेपालीलाई सरकारले चार्टर्ड विमान लगेर स्वदेश ल्यायो । भक्तपुरमा एकीकृत क्वारेन्टिन बनाएर उनीहरुलाई १४ दिन राख्यो । उनीहरु कोहीमा पनि कोरोना संक्रमण देखिएन । उनीहरुलाई राखिएको क्वारेन्टिनमा निकै राम्रो व्यवस्था गरेकोमा सरकारले प्रशंसा पनि पाएको हो । तर, त्यसपछि सरकारले कसैलाई पनि एकीकृत क्वारेन्टिनमा राख्न नसक्ने, आफैं घरमा बस्नुपर्ने भनेर हात उठायो । स्वास्थ्यमन्त्रीको यो अभिव्यक्ति विवादमा पनि प¥यो । गल्तीको सुरुआत नै यही थियो । त्यसबेला सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टिनमा राख्नुपथ्र्यो । ज्वरो नाप्दै घर पठाउँदै गर्ने सरकारको रवैया वास्तवमै गलत थियो भन्ने अहिले देखिँदैछ । यदि क्वारेन्टिनमा राखिएको भए त्यसमा लाग्ने खर्च अब भयावय अवस्था आएपछि गर्नुपर्ने खर्चभन्दा निकै कम हुने थियो ।

सरकारले गल्ती गर्ने क्रमलाई जारी नै राख्यो । समयमै अन्तर्राष्ट्रिय उडान रोकेन । सर्वोच्चले केही महिनाको लागि बन्द गर्नुपर्ने हुनसक्छ भन्दा पनि अहिले आवश्यक छैन भनेर पछि सा¥यो । त्यसअवधिमा हजारौं मान्छे विमानबाट नेपाल छिरे ।

हामी पहिलो चरणमा नै रोकिन सक्थ्यौं । आर्थात यहाँका व्यक्तिमा संक्रमण शून्य पार्न पनि सक्थ्यौं । उदेकलाग्दो त भारतसँगको खुला सीमाले हामीलाई तनाव दियो । त्यहाँबाट कति नेपाली कहिले छिरे भन्ने एकिन तथ्यांक राख्नै गाह्रो छ । अहिलेसम्म पनि लुकिछिपी छिर्नेहरु सयौं हजारौं छन् । सरकारले न समयमा सीमा बन्द गर्न सक्यो न त्यहाँबाट छिरेकालाई क्वारेन्टिनमा राख्न सक्यो । अझै पनि ग्वारग्वारती आइरहेको छ ।

सबभन्दा ठूलो गल्ती त सरकारले स्वस्थ्य सामग्री खरिदमा केटाकेटीपना देखायो । आवश्यक सामान खरिद गर्ने स्वास्थ्य सेवा विभागको नियमित प्रक्रियामा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हस्तक्षेप ग¥यो । विनाप्रतिस्पर्धा विनाअनुभवको कम्पनीलाई खरिदको जिम्मा लगाएपछि चौतर्फी विरोध भयो । त्यसबाट न सामान आयो न सरकारले जस पायो । बीचमै अलपत्र प¥यो । सरकारले खरिद गर्ने अर्को प्रक्रियामा सेनालाई बीचमा ल्यायो । यसले जनतामा आशाभन्दा निराशा नै थपिदियो । एकपछि अर्को रवैया हेर्दा सरकार महामारी नियन्त्रणमा बलियो बन्ला भन्दा निर्धो बनेको भान भइरहेको छ । अघि बढ्ला भन्दा त पछि पो हटिरहेको महसुस भइरहेको छ ।

अब के गर्ने ?
जे भयो, भयो । अब केही रणनीति परिवर्तन गर्ने र केही पुरानोलाई नै कडाइ गर्ने हो ।

हामीले गर्ने पुरानै काम भनेको लकडाउन बढाउने नै हो । अब संक्रमणको प्रसार थप व्यक्तिमा हुन नदिने उपाय भनेकै घरमै बस्ने हो । जनताले गर्न सक्ने भनेको यही नै हो । कोही पनि थप व्यक्तिको सम्पर्कमा जाँदै नजाने । त्यसलाई लकडाउनले मात्रै गर्न सक्छ । त्यसैले सरकारले तत्कालै लकडाउन अवधि बढाएर थप कडाइ गर्न आवश्यक छ ।

अर्को उपाय भनेको तत्कालै नमूना परीक्षण बढाउनु हो । शनिबारको मन्त्रिपरिषद्ले पनि यसलाई सम्बोधन गरेको छ । अहिलेसम्म बागलुङ, कैलाली र कञ्चनपुरमा बढी संक्रमण फेला परेको छ र बढी जोखिममा पनि छ । सरकारले ती तीन जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर द्रुत गतिको परीक्षण (¥यापिड टेष्ट) गर्ने निर्णय गरेको छ । यसले धेरैभन्दा धेरै व्यक्तिको नमूना परीक्षण गर्न सकिन्छ । यसको नतिजा स्वरुप व्यक्तिमा संक्रमण छ भन्ने कुरा छिटो देखाउँछ र बाँकी व्यक्ति बचाउन सकिन्छ ।

¥यापिड टेष्ट गर्दा लक्षण कुर्नु हुँदैन । ज–जसमा संक्रमण देखिएको छ, सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर सबैको नमूना लिने, परीक्षण गर्ने र अनिवार्य क्वारेन्टिनमा राख्नुपर्छ । सरकारले छिटोभन्दा छिटो थप स्वास्थ्य सामग्री खरिद गरेर ल्याइहाल्नुपर्छ ।

यी सबै गर्नका लागि सरकारको तीनै तह उत्तिकै सक्रिय हुनुपर्छ । संघीय, प्रदेश र स्थानीय गरी हामीसँग ७६१ सरकार छन् । सबैले एकैचोटि काम गर्नुपर्छ । संघीय सरकारले मूल नेतृत्व गरेर तल्लो तह सरकारलाई सजिलो बनाइदिनुपर्छ । आर्थिक जोहो र रणनीति निर्माण संघीय सरकारले गरेर कार्यान्वयन तहमा प्रदेश र स्थानीय सरकारलाई फ्रन्ट लाइनमा बढाउनुपर्छ ।

अझै नआत्तिनुहोस्
शनिबार एकैचोटि तीन जनामा भाइरस पोजिटिभ आएको खबरले जनता थप आत्तिएका छन् । परीक्षणको दायरा बढ्नेबित्तिकै केसहरु भटाभट आउँछन् भन्ने नै थियो । अझै केही दिन पोजिटिभ केसहरु योभन्दा ठूलो आँकडामा देखिन सक्छन् ।

मलाई लाग्छ यसमा हामी धेरै आत्तिनेभन्दा पनि थप सतर्क हुनुपर्ने सन्देश लुकेको छ । केस देखिँदैमा मान्छे मरिहाल्ने होइन, राम्रो उपचार प्रबन्ध र उच्च मनोबलले यो रोग निको हुन्छ । विश्वको आँकडाले यही देखाउँछ ।

सत्य के हो भने होशियारी अपनाउनुपर्ने कतिपय कुरामा हामी चुकिसकेका छौं । अब सतर्क बनेर घरै बसौं । यसो गर्दा समुदायमा थप फैलन पाउँदैन ।

महामारीविरुद्ध मिलेर लडौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट