भरतपुर, २२ चैत
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको बन्दाबन्दी उल्लङ्घन गर्ने सवारीसाधन तथा मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले होल्डिङमा राखेर छाडेको छ ।

प्रहरी कार्यालय चितवनले विभिन्न स्थानबाट बन्दाबन्दी उल्लंघन गर्ने सवारीसाधन तथा मानिसहरूलाई होल्डमा राखेको हो । नियम उल्लंघन गर्ने १० मोटरसाइकल र एउटा कारलाई साँझ पौने ८ बजेसम्मका लागि होल्डमा राखिएको हो ।
यस्तै होल्डिङमा परेका मानिसहरूको संख्या भने ३८ रहेको प्रहरी कार्यालयले जनाएको छ । होल्डिङमा पर्नेहरूमा २२ पुरुष रहेका थिए भने १६ जना महिला थिए ।
उनीहरूलाई प्रहरीले सम्झाई बुझाई गरेर छाडेको हो । अति आवश्यक काममा बाहेक लकडाउन अवधिभरी घर बाहिर ननिस्कने शर्तमा उनीहरूलाई साँझ करिब ८ बजे छाडिएको थियो ।





