काठमाडौं, २२ चैत
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
अहिलेसम्म बागलुङ, कैलाली र कञ्चनपुरमा बढी संक्रमण फेला परेका छन् र बढी जोखिममा पनि छन् । सरकारले ती तीन जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर धेरैभन्दा धेरै व्यक्तिको नमूना परीक्षण गर्ने निर्णय गरेको छ । यसले कति व्यक्तिमा संक्रमण छ भन्ने कुरा छिटो देखाउँछ र बाँकी व्यक्ति बचाउन सकिन्छ ।
मन्त्रिपरिषद् बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णयसमेत गरेको हो ।
लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए ।
सरकारले लकडाउनको अवधि थप गर्ने चर्चा दिनभर भएपनि थप गर्ने निर्णय भएन । चैत ११ गते १ हप्ता र पछि चैत २५ गते राती सम्मका लागि लकडाउन गरेको सरकारले बैशाख ३ गते सम्म लकडाउनलाई निरन्तरता दिने चर्चा आज दिनभर केही सञ्चारमाध्यमले गरेका थिए ।

सरकारले पहिलोपटक लकडाउन चैत ११ गतेदेखि १८ गतेसम्म घोषणा गरेको थियो। फेरि १६ गतेको मन्त्रीपरिषद् बैठकले २५ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको समय अवधि बढाएको थियो।
आज बसेको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको जाँच व्यापक बनाउने निर्णय गरेको नेपाल सरकारका प्रबक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।





