भरतपुर, २२ चैत
लकडाउनका कारण समस्यामा परेका अति विपन्न मजदुरका परिवारलाई चौतारी नमूना टोल सुधार समितिले आज राहत वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी टोलमा मारवाडी सेवा केन्द्रको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो ।

सो अवसरमा ७४ परिवारमा आश्रित २४० व्यक्तिलाई राहत वितरण गरिएको टोल सुधार समितिका अध्यक्ष गोविन्द अर्यालले जानकारी दिए । परिवार सदस्य संख्याका आधारमा फरक-फरक परिमाणमा वितरण गरिएको खाद्य सामग्री भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, चौतारी नमूना टोल सुधार समितिका अध्यक्ष गोविन्द अर्याल र मारवाडी सेवा केन्द्रका अध्यक्ष दुलिचन दादाले संयुक्तरूपमा वितरण गरेका थिए ।
ठूलो परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो गेडागुडी, २ किलो चिउरा, २ लिटर तेल, १ किलो नुन र १ पोका सोयाबिन र सानो परिवारलाई ७ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १ किलो चिउरा, १ लिटर तेल, १ किलो नुन र १ पोका सोयाबिन वितरण गरिएको टोल सुधार समितिका अध्यक्ष अर्यालले बताए ।
अत्यन्तै सामान्य तवरले गरिएको वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष पण्डितले सबैलाई सुरक्षित रूपले घरमा बस्न आग्रह गरे । सरकारले घोषणा गरेको लकडाउन पालना गरेर सरकारलाई सहयोग गर्नु नै अहिलेको अवस्थामा सुरक्षित रहने र संक्रमण फैलिन नदिने एकमात्र उपाय भएको उनको भनाइ थियो । महानगरपालिकाबाट वडालाई प्राप्त राहत रकम वडाभित्रका टोल सुधार समितिहरुको समन्वयमा वितरण गरिएको उनले जानकारी दिए । चौतारी टोलमा मारवाडी सेवा केन्द्रले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै उनले यस्ता परोपकारी कार्यमा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।
लकडाउनको नियमपूर्ण परिपालन गरेर घरभित्रै बस्न आग्रह गर्दै टोल सुधार समितिका अध्यक्ष अर्यालले आफ्नो टोलभित्रका कसैलाई पनि खानेकुराको समस्या हुन नदिने प्रतिवद्दता जनाए । लकडाउनको समयावधि लम्बिएमा पून: अन्य सहयोगी सामाजिक संघ संस्थालाई आग्रह गरेर दोस्रो चरणको राहत वितरण गरिने पनि उनले बताए ।





