लेखराम सापकोटा
भरतपुर, २२ चैत
लकडाउनको आज १२ औं दिन हो । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन आह्वान गरेको हो । लकडाउनका कारण अहिले लगभग सबै नेपाली घरभित्रै बसिरहेका छन् । अत्यावश्यकबाहेकका सेवा ठप्प छन्, सामान्यदेखि विशिस्ट सबै आ–आफ्नै घरमा छन् ।
लकडाउनको यो समयलाई घरै बसेर सबैले आ–आफ्नै ढंगले व्यवस्थापन गरिरहेका छन् । योबेला सामाजिक सञ्जालमा व्यस्त हुने जमात ठूलो छ । यसका अलावा टेलिभिजन हेर्ने, पत्रपत्रिका हेर्ने, खेतबारीमा काम गर्ने, मोबाईल या ल्यापटपमा फिल्म हेर्ने, किताब पढ्नेजस्ता काममा आजका मान्छे व्यस्त भएका देखिन्छन् ।
यीमध्ये पनि हामीले यो लकडाउनको बेलामा किताब पढिरहेका केही व्यक्तिहरूलाई पछ्याएका छौं । सामाजिक सञ्जालमा अरुबेला पनि किताब पढ्दै गरेका फोटो र किताबको बारेमा आफ्नो टिप्पणी राखिरहने तर आफू भने साहित्य लेखनबाट अलि टाढै रहेका विभिन्न सेवामा आबद्ध केही व्यक्तिहरूको लडाउन दैनिकी बुझ्ने कोसिस गरेका यहाँ गरेका छौं :
…

सन्तोष पनेरू युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । सामाजिक गतिविधिमा उनी सक्रिय छन् ।
सामाजिक सञ्जालमा किताब पढ्दै गरेका पोष्ट धेरै देख्न पाइन्छ उनका । उनी साहित्य सिर्जना त गर्दैनन् । तर, साहित्यिक किताब अध्ययनमा उनको रुचि लोभलाग्दो छ ।
लकडाउनको अवधिमा उनी घरमै छन् । सरकारले आह्वान गरेको लकडाउनलाई पूर्णरूपमा पालना गरेका छन् । घरमा अहिले दुई हजार बढी किताब रहेको उनी बताउँछन् । उल्लेख्य के भने उनले सबै किताब आफैं खरिद गरेका हुन् रे ।
धेरैजसो किताब उनी चितवनमै किन्छन् । नयाँ–नयाँ किताब आउने बित्तिकै नारायणगढ पुगेर सम्पूर्ण किताब र सुनगाभा बुक हाउसबाट किताब किन्ने गरेको उनी बताउँछन् । काठमाडौं जाँदा उतैबाट पनि ल्याउने गर्छन् । उनले अहिले जनरल परवेज मुसर्रफको ‘अग्नीपरीक्षा’, निरु त्रिपाठीको ‘पेरिस्कानो’, बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’, निकोलाई आस्त्रोभोस्किको ‘अग्निदीक्षा’, उमा सुवेदीको ‘इति’ र लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ पढिरहेका छन् ।
उनलाई दर्शन, इतिहास, राजनीति र विचारप्रधान किताब पढ्न मन लाग्छ । समसामयिक विषयमा लेखिएका किताबमा पनि रुचि छ उनको । समाजका लागि केही योगदान गरेका विशिस्ट व्यक्तिको जीवनी पनि उनको रोजाइका किताब हुन् । यस्ता किताब उनी आफू मात्रै पढ्दैनन्, किताब पढ्न रुचि राख्नेहरूलाई समेत पढ्न अनुरोध गर्छन् । लकडाउनका बेलामा घरमा बसिरहेका पुस्तक पारखीलाई विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त र ‘जेल जर्नल’, आहुतिको ‘नयाँघर’, अनिल बर्बेको ‘थ्याङ्क यु मिस्टर ग्लाड’, निकोलाई आस्त्रोभोस्किको अग्निदीक्षा पढ्न सुझाव दिँदै पनेरू भन्छन्, “मेरो जीवनमा सबैभन्दा प्रिय लाग्ने पुस्तक हुन् यी ।”
…

जोन कँडेल युवा उद्यमी हुन् । भरतपुरको लंकूमा उनको रेस्टुरेन्ट छ–‘दी ग्रीन पार्क’ । सामाजिक तथा परोपकारी काममा निरन्तर लागिरहने कँडेल फुर्सदमा किताब पढिरहन्छन् । राजनीति तथा समसामयिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहने उनका पत्रपत्रिकामार्फत फुटकर लेखरचना आइरहन्छन् ।
यतिबेला उनी घरमै छन् । लकडाउनको पूर्ण पालना गरेका उनी यो बसाइमा अहिलेसम्म खासै अत्यास नलागेको बताउँछन् । “घरमै किताब पढ्दैछु”, उनी भन्छन्, “आज पनि तीन जना संक्रमित थपिए । अब ९ पुग्यो । हामीले यो गम्भीर बिसयमा खेलाँची गर्नुहुन्न ।” कोरोनाबाट जोगिने उपाय नै घरमै एकान्तबास बस्नु हो ।
उनले यो १२ दिनको बसाइमा ‘विमान विद्रोह’, ‘असंगति’, ‘योगमाया’, ‘पेरिस्कानो’, ‘रअको चलखेल’ र ‘दरबारको दुखान्त’ गरी ६ वटा पुस्तक पढिसकेका छन् । पढ्नलाई बाँकी थुप्रै किताब छन् उनीसँग । घरमा बसुञ्जेल नियमित पढिरहने योजना बनाएका उनी सामाजिक सञ्जालमार्फत देश दुनियाँबारे अपडेट भइरहन्छन् ।
…

शेरबहादुर पौडेल यतिबेला नवलपरासीको दलदलेस्थित घरमा छन् । सामाजिक गतिविधिमा क्रियाशील पौडेल भिसान नवलपरासीका अध्यक्ष हुन् भने रोट¥याक्ट क्लबमा पनि आबद्ध छन् । रक्तदानलगायत परोपकारी काममा निरन्तर लागिरहने पौडेल फुर्सदमा किताब पढिरहन्छन् ।
लकडाउनमा घरमै बस्दा अलि असहज महसुस भएको उनी बताउँछन् । “मानिसलाई सामाजिक प्राणी भनियो, तर घरभित्रै असामाजिक भएर बस्नु कठिन हुने रहेछ ”, उनी भन्छन्, “हुन त यो विपत्तिमा एकान्तबास बस्नुको विकल्प पनि छैन, त्यसैले समय व्यवस्थापन गर्न किताब पढिरहेको छु ।” पौडेलले अहिले ‘सम्पदा लडाइँ’, ‘मैले देखेको नेपाल’, ‘बाइबल’ र ‘माओवाद’, ‘कुमारी प्रश्नहरू’लगायत किताब पढिरहेका छन् । पौडेल विशेषगरी इतिहासका किताब पढ्न रुचि राख्छन् ।
…

साकार लामा ईञ्जिनियर हुन् । नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध उनी राजनीति र दर्शनका किताब पढ्न रुचि राख्छन् । समसामयिक र राजनीतिक विषयमा कलम चलाइरहने उनको अंग्रेजी किताबहरूमा अलि बढी रुचि देखिन्छ ।
लकडाउनलाई पूर्णरूपमा पालना गर्दै यो समयलाई किताब पढेर व्यवस्थापन गरेका छन् लामाले । यो बसाइमा Fascism-a warning (म्याडलिन अलब्राईट) र Development as freedom(अमर्तय सेन) पढिसकेका उनले महेशचन्द्र रेग्मीको Economic history of Nepal पढिरहेका छन् । यो बसाइलाई अझै सजिलोसँग व्यतित गर्नका लागि यस्तै खालका किताब खोजिरहेको लामाले बताए ।
…

विष्णु पौडेल यतिबेला गैंडाकोटस्थित घरमा बसिरहेका छन् । विपद्सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एड नेपालमा कार्यरत छन् उनी । नियमितरूपमा किताब पढ्दै आइरहेका पौडेल आख्यान पढ्न रुचाउँछन् ।
समसामयिक विषयमा लेखिएका किताब उनलाई अलि बढी मन पर्छन् । ‘गुलाबी उमेर’, ‘खबुज’, ‘प्रिय सुफी’ र ‘कुमारी प्रश्नहरू’ उनले क्वारेन्टिन बसाइमा पढिरहेका किताब हुन् । किताब पढेर कुनै न कुनै चिजको ज्ञान बढ्ने हुनाले नियमितरूपमा किताब पढिरहने उनी बताउँछन् ।
…

सुरज शर्मा गण्डकी विकास बैंकमा कार्यरत छन् । उनी अहिले नवलपरासीको हर्कपुरस्थित घरमै समय बिताइरहेका छन् । “घरभित्रै बसेर टेलिभिजन हेर्दै, सामाजिक सञ्जाल हेर्दै, अनलाइनका समाचार सामग्री हेर्दै दिन बितारहेको छुु”, उनी भन्छन्, “साथमा केही किताब छन्, तिनै किताब अहिले महत्वपूर्ण साथी बनेका छन् ।”
शर्मा राजनीतिक र आर्थिक विषयवस्तु समेटिएका किताब पढ्छन् । उनीसँग ‘मध्यपहाडको यात्रा’, ‘दरबारको दुखान्त’, ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा लिपुलेक अर्थात अर्थतन्त्र’, ‘मिसन रअ’ तथा Inside of Nepal लगायतका पुस्तक साथै छन् । “विस्तारै रूचिअनुसारका किताब पढिरहेको छु”, शर्माले थपे, “बानी नपरेकाले घरभित्रै बसिरहँदा अलि असहज महसुस हुँदो रैछ, यस्तो बेलामा करेसा र खेतबारीतिर डुल्ने गरेको छु ।”





