घर फर्किएलान् त अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी ?

शिव गौतम
भरतपुर, चैत २२
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या अस्ट्रेलियामा पनि बढ्दै गएको छ । अस्ट्रेलियामा हालसम्म ५ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ५ सय ८५ उपचारपछि घर फर्किएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्ड ओ मिटरका अनुसार अस्ट्रेलियामा मार्च २१ तारिखका दिनसम्म जम्मा १ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यो संख्या आगामी १३ दिनमा करिब ४ सय ८ प्रतिशतले बढेपछि आफ्ना नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्ट्रेलिया सरकार यतिबेला संघर्षरत छ । सोही क्रममा अस्ट्रेलियाको सरकारले त्यहाँ अस्थायी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई आफ्नै देशमा फर्कन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि देशका नागरिकलाई सुरक्षित राख्न, भाइरसको संक्रमणलाई निदान गर्न तथा संवेदनशील प्रकृतिका उद्योगहरूलाई साथ प्रदान गर्न प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया बस्दै आएका अन्य देशका नागरिकहरूलाई घर फर्कन आग्रह गरेका हुन् । अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार अस्थायी भीसा लिएर हाल त्यहाँ २.१७ मिलियन अर्थात् २१ लाख ७० हजारको संख्यामा विदेशी नागरिकहरू बस्दै आएका छन् । अस्थायी भीसा लिएर त्यहाँ बस्दै आएकाहरू अन्तर्राष्ट्रिय विद्यार्थी, आफन्त भेट्न पुगेका व्यक्ति र काम तथा घुमघामका लागि पुगेका व्यक्तिहरू रहेका अस्ट्रेलियाको सरकारले जनाएको छ ।

सरकारले घोषणा गरेको सञ्चयकोष लगायतका सुविधा आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि मात्रै भएको प्रधानमन्त्री मोरिसले स्पष्ट पारे । अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनको भनाइ छ । अष्ट्रेलियामा एक वर्षभन्दा कम समयदेखि बस्दै आएका आप्रवासीहरूले आफैंलाई सहयोग गर्न नसक्ने अवस्था भएमा आफ्नै देश फर्कन त्यहाँको सरकारले आग्रह गरेको हो ।

यसबाट अस्ट्रेलिया अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरू समेत प्रभावित हुने देखिएको छ । घरबाट अस्ट्रेलिया रहेका सन्तानहरूलाई खर्च पठाइरहन सबै आमाबाबुलाई सम्भव पनि नहोला । गोर्खा घर भई अस्ट्रेलियाको मेलबर्न शहरमा बसेर अध्ययन गर्दै गरेका पारस कार्कीले अष्ट्रेलिया सरकारको सो भनाइबाट दुःखी बनेको बताए । “बाहिर दुईभन्दा बढी मानिसहरू हिँड्न मनाही गरिएको छ । साथीहरू र मैले विश्वविद्यालयका अधिकांश कक्षा अनलाइनबाट लिइरहेका छौं”, उनले भने । कोरोना भाइरसका कारण उद्योग तथा होटलहरू बन्द भएकाले काम पनि बन्द भएको उनले सुनाए । “हालको अवस्थामा पैसा जोगाउन एकदमै मुस्किल भएको छ”, निराश हुँदै उनले भने, “केही सुपरमार्केट त खुल्ला छन् तर खोजेको सामग्री पाउन गाह्रो छ ।” अष्ट्रेलियाको अर्थतन्त्रलाई बलियो बनाउन विदेशी विद्यार्थीहरूले दिएको योगदानको कदर नगरिएको उनको भनाइ थियो । “अष्ट्रेलियाका नागरिकको तुलनामा हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ठूलो मात्रामा कर बुझाउँदै आएका छौं । हालको प्रतिकूल अवस्थामा हामीहरूलाई एक्लो पारिएको अनुभव गरेको छु । अब घरै त फर्कने होला नि”, उनले भने ।

यो समय तेरो वा मेरो नागरिक भन्ने बेला होइन किनभने कोरोना भाइरस कुनै एउटा वा दुई वटा देशको मात्रै समस्या रहेन । जो जहाँ छ, उसलाई त्यहीँको सरकारले बचाएर राख्नुपर्ने हुन्छ । यदि कोही आफ्नै देश फर्कन चाहेका छन् भने पनि दुई देशका सरकारले आवश्यक समन्वय गर्न जरुरी हुन्छ । त्यस्तै, अमेरिका होस् या भारत, अष्ट्रेलिया होस् या कतार, संसारका हरेक क्षेत्रमा बसेर रोजगार गर्दै आएका नेपालीलाई हेर्ने नेपाल सरकारको दृष्टिकोण सकारात्मक हुनुपर्ने देखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट