भरतपुर, २२ चैत
सरकारले सेल्फ क्वारेन्टिन अवधि लम्ब्याउन सबैलाई अनुरोध गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १४ दिन क्वारेन्टिनमा बसिसके पनि कोरोनासँग मिल्ने कुनै लक्षण नदेखिए पनि थप समय क्वारेन्टिनमा बस्न अनुरोध गरे ।
सरकारले सञ्चालन गरेको टेलिफोन हटलाइनमा धेरैले १४ दिन बस्दा कुनै लक्षण देखिएन अब कसो गर्ने होला भनेर जिज्ञासा राखेको बताउँदै उनले त्यसो भए पनि अझै क्वारेन्टिनमै बसिरहनुपर्ने बताए । “कतिपय मान्छेमा १४ दिनमा नदेखिएको संक्रमण पछि जाँच गर्दा पोजिटिभ देखिएको केस पनि छन्”, उनले भने, “त्यसैले ख्याल गरेर अझै क्वारेन्टिनमा बसिदिनुहोला ।”

विशेषगरी अरु देशबाट आएकाहरुलाई अनिवार्यरुपमा कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्न भनिएको थियो । तर, अन्तर्राष्ट्रियरुपमा कतिपय अवस्थामा १४ दिनपछि पनि यसको लक्षण देखापरेका छन् ।





