लेखराम सापकोटा
भरतपुर, १९ चैत
नारायणगढ तथा भरतपुरका प्राय: औषधि पसलहरू हिजोआज सुनसान छन् । औषधि खरिद गर्न आउनेहरू पहिलेको तुलनामा निकै कम देखिएका छन् । कोरोना भाइरस कोभिड १९ को संभावित जोखिमबाट बच्न भन्दै सरकारले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्न निर्देशन दिएपछि बिगत नौ दिनदेखि मुलुकभरको दैनिकी बन्दप्रायः छ । सरकारले घरमै बस्न र अत्यावश्यक काम नपरी बाहिर निस्कन प्रतिबन्ध गरेपछि मानिसहरू घरमै बसेका छन् ।

यो बिचमा नारायणगढ र भरतपुरका सबैजसो औषधि पसल खुलेका पनि छैनन् । जति खुलेका छन्, तिनमा पनि सेवाग्राहीको उल्लेख्य चहलपहल छैन । सरकारले सामान्य किसिमका बिरामीलाई सकेसम्म घरेलु ओखतीमुलो गर्न र अप्ठ्यारो परेको खण्डमा मात्रै अस्पताल आउन अनुरोध गरेपछि मानिसहरू बाहिर निस्किएका छैनन् ।
बुधबार नारायणगढस्थित एउटा फार्मेसीमा औषधि खरिद गर्दैगरेकी गैंडाकोटकी नविना सापकोटाले तीन चारवटा पसल चाहारेपछी बल्लबल्ल खोजेको औषधि पाइन् । “मैले नियमितरूपमा लिने गरेको औषधि पसल बन्द रहेछ । तीन चारवटा पसलमा सोधेपछी बल्ल पाएँ”, सापकोटाले भनिन् ।
नियमितरूपमा औषधि खाइरहेका दीर्घरोगका बिरामी मात्रै फाट्टफुट्ट औषधि किन्न आएका छन्, नारायणगढस्थित रोयल फर्माका प्रेम थापाले भने, “पहिले-पहिलेजस्तो ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो औषधि दिनुस् न भन्दै आउने बिरामी छैनन् । त्यसरी सोधपुछ गर्नेलाई हामीले अस्पताल जानका लागि सिफारिस गरेका छौं । हिजोआज मास्क तथा स्यानीटाइजर खोज्नेहरू धेरै आएका छन् ।”

बेलचोकमा रहेकोे टाटा फर्मा दिनदिनै नखुले पनि फाट्टफुट्ट खुलेर सेवा दिइरहेको छ । सेवाग्राहीको उपस्थिति नदेखिएपछी यो नौ दिनमा अधिकांश समय घरमै बसेको संचालक गोपाल न्यौपानेले बताए । टाढाबाट आउने कोहि छैनन्, नजिकैकाले फोन गरेर बोलाउँछन्, आउँछु सेवा दिन्छु । लकडाउनका बेला यस आसपासमा भाडामा बस्नेहरू सबैजसो आआफ्नो गाउँ गएका छन् । यहीँका मान्छेहरू केही भए सोझै अस्पताल पुग्न पनि नजिकै छ । त्यसैले यो अवस्थामा सेवा दिनकै लागि खोलेर बस्नु नपरेको न्यौपानेले बताए ।
भरतपुर क्षेत्रमा पनि नियमित औषधि प्रयोग गर्ने सेवाग्राहीहरू मात्रै अलिअलि आएको पुरानो मेडिकल कलेज अगाडिको सुमि औषधि पसलका अजय पौडेल बताउँछन् । “अस्पतालमा आएका बिरामी तथा स्वास्थ्य बिमा गरेकाले अस्पतालकै फार्मेसीबाट औषधि लिन्छन् । हामी कहाँ आउने भनेका भित्रका पसलमा नपाएका र हाम्रा नियमित सेवाग्राही नै हुन्, नियमित डाइलासिस गराउनेहरू पनि हामी कहाँ आउँछन्”, पौडेलले भने ।
शहरी क्षेत्रका केही पसल खुलेपनि ग्रामीण क्षेत्रका प्राय:बन्द छन् । खुलेका केहीमा पनि औषधिको अभाव छ । “सिटामोल किन्न खोज्दा पनि नपाएर भरतपुर नै आइपुग्नुपर्ने भयो”, चौबीसकोठीमा भेटिएका पश्चिम चितवनका एक स्थानीयले भने, “साह्रै आपत आइलाग्यो ।”





