काठमाडौं, १९ चैत
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि औंल्याएका छन् ।

कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।
‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।
उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् ।
उनले कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको पनि बताए । गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरेका छन् ।





