ध्रुवराज खनाल
खैरहनी, १८ चैत
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको प्रत्यक्ष असर खैरहनी कठारका माझी मुसहर समुदायमा परेको छ । लकडाउनले घरमै बस्न बाध्य भएका उनीहरुको चुल्हो नबल्ने अवस्थामा पुगिसक्यो ।

ज्याला मजदुरी गरेर उनीहरुले विहान वेलुकाको छाक टार्दै आएका छन् । एक साता सम्म जेनतेन छाक टारेका उनीहरुमा खाद्य संकट देखिएको छ । खाद्यान्न नहुँदा चुल्हो नबल्ने स्थितिमा पुगिसकेको स्थानीय एमपी माझीले हताईन् । “दिनभर काम गरेरै विहान वेलुकाको छाक टार्नु पर्छ, अहिले काममा जान पाईएको छैन”, एमपी भनिन्, “थोरै भएपनि खाँदै आएका छौ, अब त चामलनै सकिसक्यो ।”
उनी मात्रै होईन यहाँका सवै महिला पुरुष ज्यालादारीमा जाने गर्छन् । त्यहीबाट उनीहरुको घरमा चुल्हो हल्छ । तर अब चुल्हो नबल्ने स्थिति आएको उनले सुनाईन् । रिपोटिङका क्रममा सुतिरहेको अवस्थामा भेटिएका शनिचरा माझी भन्दै थिए, “काममा जान पाईएको छैन्,खान समस्या भयो । फाट्ट फुट्ट काम हुन्थ्यो त्यो पनि गुम्यो” उनले थपे, “आधा पेटले दिनरात काट्नु परेको छ ।” उनी सरहका सवै युवाहरु अहिले बेकामे भएका छन् ।
यो मुसहर समुदायमा २८ घरपरिवार छन् । उनीहरु सवैको हालत उस्तै छ । उनीहरु ऐलानी जग्गामा बस्दै आएका छन् । अहिले उनीहरुका लागि संघीय सरकार र खैरहनी नगरपालिकाले आवास निर्माण गरिरहेको छ । मजदुरी गर्न नपाएको वेला माछा र घोंगी टिपेर स्थानीयलाई बेचेर चामल किनी छाक टार्ने गरेका छन् ।

यो ठाउँमा मुसहरहरु झण्डै ४०,४५ वर्ष अघिदेखी बस्दै छन् । खैरहनी नगरपालिकाले यी र यस्तै ज्यालामजदुरी गर्नेहरुको तथ्यांक लिईसकेको छ । संभवत बुधवारदेखी राहत वितरणको काम सुरु हुने खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए । ज्यालामजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई प्राथमिकता दिएर राहत वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले बताए ।





