भरतपुर, १४ चैत
अत्यावश्यक सेवा भित्र पर्ने खाद्यान्न पसल र होटल पनि नखुलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी सहितको सूचना जारी गरेको छ । सरकारले लागू गरेको लकडाउनमा यस्ता पसलहरु पनि खोल्न भनेको छ । तर एकाध वाहेक खाद्यान्न पसल खुलेका छैनन् ।

खाद्यान्नका पनि ससाना किराना पसल मात्र खुलेका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको थियो । त्यसपश्चात औषधि,खाद्यान्न,दूध, ग्यास, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक बस्तु तथा सेवाको उत्पादन वा बिक्री बितरण नरोक्न सूचना जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी गरिएको सूचनामा उत्पादन तथा बिक्रि बितरणमा अबरोध गर्ने संस्था वा व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
पूर्वी चितवनमा अनुगमनमा पुगेका जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत कमल आचार्यका अनुसार खाद्यान्न र होटलहरु खुलेका छैनन् । शुक्रवार पूर्वी चितवनको रत्ननगर र खैरहनीमा आचार्यको नेतृत्वमा आन्तरीक राजस्व कार्यालय,खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधी सहभागी भएर अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा सहभागी खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीले वजारमा आलुको मूल्य लकडाउन पछि बढेको पाईएको बताए । व्यापारीले एक बोरामा ५ सय देखि एक हजार सम्म नाफा खाएको पाईएको उनले बताए । त्यस्ता पसललाई पहिलो चरणमा सम्झाईको छ ।





